कैलाली। कुनै पनि एम्बुलेन्स चालकले कोरोना भाइरसबाट संक्रमित व्यक्त्तिका परिवारलाई बोक्न नमान्दा प्रहरी मध्यराति रित्तै फर्किएको छ।
कोरोनको आशंकामा सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएका व्यक्ति संक्रमित रहेको पुष्टि भएपछि शुक्रबार साँझ प्रहरी उनका परिवारजनलाई लिन धनगढी उपमहानगरपालिका ५ हसनपुरस्थित घरमा पुगेको थियो।
प्रहरी संक्रमितका परिवारका सबै सदस्यलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राख्न लिन गएको थियो। स्रोतका अनुसार संक्रमितका परिवारका सदस्य रहेको थाहा पाएपछि कुनै पनि एम्बुलन्स चालक उनीहरुलाई ल्याउन तयार भएनन्।
प्रहरीले मध्यरातिसम्म एम्बुलेन्स चालकहरूलाई उनीहरूलाई ल्याइदिन अनुनय विनय गरेको थियो। तर प्रहरीको आग्रह कुनै चालकले मानेनन्। त्यसपछि प्रहरी टोली मध्यराति फर्केको थियो।
चालकहरूले सुरक्षा कवच नभएको बताउँदै एम्बुलेन्स चलाउन नमानेका हुन्। संक्रमित सेती प्रादेशिक अस्पतालमा छन्। घरमा उनका बुवा(आमा, दाजु(भाउजु, भतिजी, पत्नी र छोरीसहित आठ जना छन्।
एम्बुलेन्स चालकले नमानेपछि प्रहरीले उनीहरूलाई पैदल अस्पताल ल्याउने कोशिस गरेको थियो। तर परिवारका सदस्यले मानेनन्। त्यसपछि उनीहरूलाई घरमै क्वारेन्टाइनमा बस्न आग्रह गरेर प्रहरी फर्केको छ।