धनगढी, ३० फागुन- कैलालीमा बोक्सी आरोपमा काकीलाई कुटपिट गरेको भन्दै वडा सदस्य सहितका दुईजना पक्राउ परेका छन्। जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर २ का वडा सदस्य ५० वर्षीय रामकुमार चौधरी र उनका २८ वर्षीय छोरा राजुलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले ३७ वर्षीय छिमेकी महिलामाथि बोक्सीको आरोप लगाउदै कुटपिट गरेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए। प्रहरी नायब उपरिक्षक बस्नेतका अनुसार घटना २७ गतेको भएपनि ढिलोगरी प्रहरीकोमा पुगेको हो।
स्थानीयका अनुसार बोक्सीको आरोपमा कुटिएकी भनिएकी महिला वडा सदस्यकी काकी नाता पर्छिन्। घरायसी विषयलाई लिएर दुवै पक्षबिच झडप भएको स्थानीयले बताएका छन्। विवादका क्रममा हात हालाहाल समेत भएको र वडा सदस्यलाई समेत चोट लागेको एक स्थानीयले बताए।
बोक्सी भन्दै महिलामाथि कुटपिट गरिएको भन्ने आरोप गलत भएको दावी गरिएको छ। अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
