इरानमा लगातार दोस्रो दिन पनि सरकारविरोधी प्रदर्शन भएको छ । राजधानी तेहरान तथा इरानका अन्य विभिन्न सहरमा गएराति भएका प्रदर्शनमा प्रदर्शनकारीले सर्वोच्च नेता आयतोल्लाह अली खामनेईको विरोधमा नारा लगाए ।
तेहरानमा प्रदर्शनकारीहरूले गत साता अमेरिकी हवाई आक्रमणमा मारिएका सैन्य नेता कासिम सुलेमानीका तस्बिर समेत च्यातेका छन् ।
एक सय ७६ जनाको ज्यान जानेगरी तेहरानमा भएको विमान दुर्घटनाबारे सरकारले झुट बोलेको भन्दै विरोध सुरु भएको हो । प्रदर्शनकारीलाई तितरबितर पार्ने प्रयासमा प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै कैयौंलाई पक्राउ गरेको थियो ।
इरानी नागरिकसहित विभिन्न देशका यात्रु चढेको युक्रेनी विमान इरानी क्षेप्यास्त्र प्रहारका कारण दुर्घटनामा परेको थियो । पहिला क्षेप्यास्त्र प्रहार नभएको दाबी गरेको भए पनि शनिवार इरानी सेनाले ‘मानवीय त्रुटि’ का कारण क्षेप्यास्त्र प्रहार भएको स्वीकार गरेको थियो ।
इरानको रिभोल्युसनरी गार्ड्स कोरका प्रमुख हुसेन सलामीले संसद्मा बोल्दै विमान खसालिनु अनुचित भए पनि त्यो घटना भइसकेको टिप्पणी गरेका छन् । ‘ईश्वर साक्षी छन्। यो दुःखद घटना झेल्नुभन्दा म त्यो विमानमा रहन र उनीहरूसँगै जल्न चाहन्छु,’ उनले भने ।
ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिए पनि प्रदर्शनकारीहरू विरोध कार्यक्रममा सहभागी भएका थिए । सडकमा दंगा प्रहरीका साथै मोटरसाइकलमा रिभोल्युसनरी गार्ड्सका सैनिक खटिएका छन्। सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।