काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप प्रतिबन्धको घोषणा गरेका छन् । बुधबार साँझ ह्वाइट हाउसबाट देशवासीका नाममा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले थप प्रतिबन्धको घोषणा गरेका हुन् । उनले यतिबेला इरान गलेको र थप तनाव नचाहेको जस्तो देखिएको बताएका छन् । राष्ट्रपति ट्रम्पले इरानको मिसाइल आक्रमणबाट कोही अमेरिकी हताहत नभएको समेत उनले सम्बोधनको क्रममा स्पट पारे ।
ट्रम्पले भने, ‘इरानको मिसाइल आक्रमणबाट कुनै ठुलो क्षति भएको छैन, सेनालाई सलाम छ ।’ राष्ट्रपति ट्रम्पले आफुहरुसँग अत्याधुनिक हतियार भए पनि त्यसलाई अहिले प्रयोग गर्न नचाहेको बताए । उनले भने, हामीसँग अत्याधुनिक हतियारहरु छन्, तर हामी त्यसलाई प्रयोग गर्न चाहादैनौ ।’ उनले भनेका छन्, ‘अमेरिकाले साँच्चै गर्व गर्नुपर्ने अवस्था छ। कोही पनि अमेरिकीलाई कुनै हानी भउएको छैन ।
हाम्रो तर्फ कसैको पनि मृत्यु भएको छैन । हाम्रा सबै सैनिकहरू सुरक्षित छन्। हाम्रा सेनाका शिबिरमा केही क्षति मात्र भएको हो,ु ट्रम्पले भनेका छन् ।’ सम्बोधनमा उनले अमेरिकालाई मध्यपूर्वको तेल आवश्यक नभएको पनि तर्क गरे । अमेरिका अहिले इन्धन र ग्यास उत्पादनमा विश्वकै नम्बर १ उत्पादक रहेको बताउँदै इरानविरुद्धको यो कारवाही तेलका लागि नभएको जिकिरसमेत गरे । उनले आफ्ना सैनिकहरु सुरक्षित रहेको समेत दाबी गरेका छन् । केही दिनअघि मात्र इरानका सैनिक जनरल कासिम सुलेमानीको अमेरिकी सेनाको ड्रोन आक्रमणमा मृत्यु भएको थियो । सुलेमानीको मृत्यलगत्तै ती दुई देशबीच थप तनाव बढिरहेको छ ।
