बझाङ ८ पुस
अभ्यासका लागि खेल मैदान नभए पनि बझाङमा खेलाडी उत्पादन भने उत्साहजनक छ । बझाङले थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पदक हासिल गर्ने खेलाडी जन्माएको छ । यी खेलाडीले जिल्ला र देशकै नाम उँचो बनाएका छन् । खेल जितेर फर्किँदा वाह वाही पाए पनि यी खेलाडीको संघर्ष भने सहज छैन ।
क्षमता भए पनि खेलकुदका गतिविधि बढाउन अभ्यास खेलका लागि जिल्लामा उपयुक्त मैदान नै छैनन् । प्रतिस्पर्धामा जितेका बेला भाषण गर्ने स्थानीय नेताहरूले खेलकुदको विकासका लागि प्रतिवद्ध रहेको जनाउँदै आए पनि स्थानीय तहले खेलक्षेत्रमा बजेट नै विनियोजन गरेका छैनन् । वा खेलकुदमा छुट्याइएको केही बजेट पनि सांस्कृतिक कार्यक्रम र वक्तृृत्वकला तथा विद्यालयमा हाजिरीजवाफ कार्यक्रममै खर्चिंदै आएका छन् ।
हाल बझाङबाट पुलिस क्लबमा आवद्ध दुई जना दुर्गाथली गाउँपालिकाका विशाल विक र दीपकराज जोशी अन्तर्राष्ट्रियस्तरका खेल खेलिरहेका छन् । यस्तैऽ केदारस्युँका हेमन्त मल्ल एपीएफबाट राष्ट्रिय खेल खेलिरहेका छन् । पुलिस क्लबबाटै लोकेन्द्र गिरी पनि खेल्छन् । यता गणेशजंग सिंह, रामभक्त गिरी, धनबहादुर सिंह, लालबहादुर खड्का, प्रकाश सिंह, सुवर्ण सिंह, प्रकाश विक, गंगाराम सुनारलगायत थुप्रै खेलाडीले राष्ट्रियस्तरका खेल खेलिसकेका छन् ।
यस्तै, नेपालमै नयाँ खेल भित्र्याउन सफल नेपाल क्योकुसिनका केन्द्रीय अध्यक्ष पुष्पलाल ज्वाला गुरु पनि हाल नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय खेल खेल्छन् । ज्वाला गुरुको योगदान करातेमा उत्तिकै छ । यति धेरै खेलाडी एउटै जिल्लाबाट भए पनि आफ्नै ठाउँमा अभ्यासका लागि एउटा गतिलो मैदान भने छैन ।
जिल्ला खेलकुद विकास समितिमा केही बजेट आउने भए पनि राजनीतिक खिचातानीका कारण त्यो बजेट कहाँ खर्च हुन्छऽ कसैलाई जानकारी छैन । पदक हासिल गर्न सफल यी खेलाडीहरू बाँझो खेतबारी, आँगन, खोला किनार र विद्यालयका चौरमा अभ्यास गर्छन् ।
केही समयअघि नेपाल क्योकुसिनका अध्यक्ष पुष्पलाल ज्वाला गुरुले आफ्ना शिष्यलाई पानी परिरहेका बेला मैदान अभावमा नेकपा पार्टी कार्यालय पानकोट अगाडि कराते सिकाउँदै गर्दाको दुःखलाई सम्झिँदै सबैका लागि ध्यानाकर्षण नोट सामाजिक सञ्जालमा पोष्ट गरे ।
उनको ध्यानाकर्षण नोटमा ‘यो एक बझाङका समग्र सबै खेलका खेलाडीहरूको प्रतिनिधित्व गर्ने एक सिमसिमे पानी पर्दै गर्दा ट्रेनिङ गरिरहेका बझाङका खेलाडी सदरमुकाम चैनपुरको तस्वीर हो, जुन खेलाडी आफ्नो खेलमैदान, कभर्ड हल नभएर खेलकुदका शरणार्थीको स्वरुप पार्टीको कार्यालयको छत, मैदान त कतै विद्यालयको मैदान, खोला किनाराहरू प्रयोग गर्दै आ–आफ्नो खेलमा निरन्तर लागिपरेका छन्’ उल्लेख छ ।
यो बझाङ जिल्लाका समग्र खेलका खेलाडीहरूको विडम्बनाको प्रतिनिधिमूलक तस्वीर पनि हो । उनले खेलाडीहरूलाई खेलमैदान, छत उपलब्ध गराई सहयोग गर्नुहुने सबैमा हार्दिक धन्यवाद दिएका छन् । ज्वाला गुरु मात्र होइन, खेल मैदान नपाएर तड्पिएका बझाङका हुर्कंदै गरेका खेलाडी पनि खेल मैदानका बारेमा चिन्ता व्यक्त गर्छन् ।
जिल्लामा जुनसुकै खेलकुद प्रतियोगिता गर्न कुनै चाडपर्व वा मेला कुर्नुपर्ने र भइहाले पनि कहाँ सञ्चालन गर्ने भन्ने ठूलो चिन्ता आयोजकलाई भइरहन्छ । जिल्ला तथा प्रदेशस्तरका खेलकुद प्रतियोगिताहरू कहिले देवल विमानस्थल त कहिले विद्यालयका साँघुरा चौरमा हुने गर्छन् । यस वर्ष सुदूरपश्चिमको ऐतिहासिक सुर्मादेवी मेलामा खेल मैदान अभाव हुँदा बाहुली खोलाको किनारमा निर्माणाधीन बसपार्कमा खेलाइयो । यसअघि आयोजकले चैनपुर बजारका ठूला–ठूला धान फल्ने खेत कुर्ने गर्थे ।
प्रधानमन्त्री, राष्ट्रपति रनिङ शिल्ड हुँदा बझाङमा खेल मैदान नपाएर धेरै समयसम्म कालाखालीस्थित सेती नदी किनारमा खेलाइयो । त्यस्तै, निर्वाचन क्षेत्र नम्बर २ मा हप्तौंसम्म विद्यालयको पढाइ नै बन्द गरेर जनप्रिय मावि बगडगाउँ र गर्जेपानी माध्यमिक विद्यालय रायलको प्रांगणमा सञ्चालन गरियो ।
अहिले एक स्थानीय तह एक खेलकुद मैदान अवधारणा बझाङका सबै स्थानीय तहले अघि बढाएका छन् । अहिलेसम्म वित्थडचिर गाउँपालिका, थलारा गाउँपालिकालगायतका स्थानीय तहले खेल मैदानका लागि प्रयास थालिरहेका छन् । जयपृथ्वी नगरपालिकाले भने बाहुली खोलाकै किनारमा निर्माणाधीन बसपार्कको तल्लो भागमा खेलकुद स्टेडियम बनाउने योजना बनाएको जयपृथ्वी नगरपालिका– १० का वडाध्यक्ष दलबहादुर विष्टले बताए ।
उनले प्रदेश सरकार र नगरपालिकाबाट रकम विनियोजन भइसकेकाले छिट्टै स्टेडियम बन्ने दाबी गरे । यसअघि गत वर्ष बुंगल नगरपालिकामा ठूलो धनराशिको प्रदेशस्तरीय बीसीए–कप क्रिकेट आयोजना हुँदा बझाङको खेल मैदानको समस्या केन्द्रसम्म ध्यानाकर्षण दिलाउन खेलकुदमन्त्री जगत विश्वकर्मालाई उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा निम्त्याइयो ।
मन्त्री विश्वकर्माले उद्घाटन कार्यक्रममा बोल्दै मैदान अभावको समस्या आफूले बुझेको र रकम छुट्याएर यस आर्थिक वर्षभित्रै बझाङमा खेल मैदान निर्माण गर्ने उद्घोष गरे । तर, अझैसम्म खेल मैदानका लागि कुनै पहल नभएको बुंगलका नरेश कुँवरले गुनासो पोखे ।
जिल्लामा भलिबल, क्रिकेट खेलको मोह बढ्दै गएको छ । तर, खेलाडीहरू बाहिरी जिल्लामा गएर अभ्यास गर्छन् । चाडवाडका अवसरमा दर्जनभन्दा बढी खेलकुद प्रतियोगिता हुने सुदूरपश्चिमको एक मात्र जिल्ला बझाङ हो । बझाङमा यसअघि सुदूरपश्चिमकै सर्वाधिक धनराशिका क्रिकेट र भलिबल प्रतियोगिता सञ्चालन भइसकेका छन् ।