काठमाडौं ।
नेपाल प्रहरीमा इन्काउन्टर स्पेसलिस्टको उपाधि पाएका प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमोद ढुंगेलविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेसँगै उनी फरार भएका छन् । गुन्डा नाइके दिनेश अधिकारी (चरी) र गुन्डा नाइके मनोज पुन को इन्काउन्टर उनैले गरेका थिए । उनीविरुद्ध डाँका मुद्दामा संलग्न रहेको अभियोगमा प्रहरीले पक्राउ पुर्जी जारी गर्न जिल्ला अदालतलाई पटकपटक ताकेता गरेको भए पनि सात महिनापछि मात्र पक्राउ पुर्जी जारी भएको छ। पक्राउ पुर्जी जारी भएको सूचना पाएपछि ढुंगेल फरार छन् ।
के थियो रानीबारी घटना ?
रानीबारीमा भएको एक डकैती काण्डमा पक्राउ परेका एक अभियुक्त र डिएसपी ढुंगेलबीच लामो कुराकानी भएको पत्ता लागेपछि प्रहरी प्रधान कार्यालयले ढुंगेललाई निलम्बन गरेको थियो। गत चैत २६ गते रानीबारीमा भएको डकैती काण्डमा समातिएका विकास श्रेष्ठ र ढुंगेलबीच दर्जनौंपटक फोन संवाद भएको तथा केही शंकास्पद कुराकानीसमेत भएको प्रहरी प्रधान कार्यालयले फेला पारेपछि ढुंगेल निलम्वनमा परेका थिए।
उनले मुद्दा मिलाइदिन्छु भनेर अभियुक्तसँग पैसा मागेका थिए । प्रहरीको उच्च अधिकारीलाइ समेत मिलाउनुपर्ने भन्दै उनले डकैती काण्डमा समातिएका श्रेष्ठसँग एक दर्जनभन्दा बढी फोन गरेका थिए । पूर्वडिआइजी रमेश खरेलको विश्वासपात्रका रूपमा रहेर काम गरेका ढुंगेलको पछिल्लो गतिविधि शंकास्पद रहँदै र संगठनका केही उच्च अधिकारीलाई धावा बोल्दै आएका एक प्रहरी स्रोतले बताएको छ ।