आजको पत्रपत्रिकामा मेडिकल कलेजको ठगी धन्दाको विषय, अनियमितता र बेतिथी साथै राजनीतिक घटनाक्रमको विषय प्राथमिकतामा परेका छन् । कान्तिपुर दैनिकले उपेन्द्र यादवलाई सरकार निल्नु न ओकल्नु भएको विषय प्रमुख समाचार बनाएको छ ।
कान्तिपुर लेख्छ– उपप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शनिबार पार्टी बैठकमा भाग लिन जाँदा निजी गाडी प्रयोग गरे । शुक्रबार साँझ दिल्लीबाट फर्केका उनी आइतबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यभार सम्हाल्न जानुपर्ने थियो । मन्त्रालयमा उनको ‘नेमप्लेट’ टाँसेर कर्मचारी दिनभर कुरिरहे तर उनी पार्टीका अर्को अध्यक्ष बाबुराम भट्टराईसहितका नेताहरुसँग उपनिर्वाचनसम्बन्धी कार्यक्रममा भाग लिन विहानै पोखरा लागे ।
यादव भारतको नयाँदिल्लीमा रहेको बेला बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालय परिवर्तन गरिदिएका थिए । त्यसअघि उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीमा थिए । प्रधानमन्त्रीले ‘अपमानपूर्वक’ आफ्नो जिम्मेवारी फेरबदल गरेको भन्दै असन्तुष्ट रहेका यादवलाई सरकार ‘निल्नु न ओकल्नु’ भएको छ । न उनी दिएको जिम्मेवारी स्विकारेर अघि बढ्ने अबस्थामा छन् न सरकारबाट बाहिरिने । कान्तिपुर दैनिकमै मेडिकल कलेज सञ्चालकलाई ‘ठगी मुद्दा’ शिर्षकमा समाचार छापिएको छ । समाचार अनुसार शुल्क फिर्ता गर्ने १५ दिने समयसीमा सकिएकाले कारबाही प्रक्रिया अगाडी बढाउन लागिएको छ ।
अन्नपूर्ण पोस्टले कामै नगरी बिलको चाङ थ्प्रिएको विषयलाई प्रमुख समाचार बनाएको छ । प्रदेश नं २ सरकारले ०७५÷७६ मा आठै जिल्लामा बाँडेका ८ सय ४२ योजनामध्ये ५ सय ९० वटाको रकमै निकासा भएन । उपभोक्ता समितिमार्फत भएको काममा ९० करोडभन्दा बढी भुक्तानी हुन नसकेपछि मन्त्री र सांसदको टाउको दुखाइ भएको छ । नागरिक दैनिकले दरबारमार्गको जग्गा भाडा कानुनविपरीत रहेको समाचार लेखेको छ ।
नागरिक लेख्छ–दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा प्रचलित कानुनविपरीत भाडामा दिएको देखिएको छ । यति होल्डिङ्सको भगिनी संस्था थामसेर्कु डेभलपर प्रालिलाई तीन वर्षका लागि उक्त जग्गा भाडामा दिँदा बोलपत्रको समय अवधि सकिएपछि गरिएको सम्झौता कानुनविपरित हुन गएको हो । महालेखा परीक्षकको कार्यालयले समेत ट्रस्ट र थामसेर्कुबीचको भाडा सम्झौता कानुनविपरीत भएको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
