आजको पत्रपत्रिकामा राजनीतिक घटनाक्रम, स्वास्थ्यसँग जोडिएका विषय र समसामयिक घटनाको विषय प्राथमिकताका साथ छापिएका छन् ।
कान्तिपुर दैनिकमा ४ मेडिकल कलेज ठप्प शिर्षकमा प्रमुख समाचार छ । चिकित्सा शिषँ अध्ययनरत विद्यार्थीले शुल्क फिर्ता माग्दै सुरु गरेको आन्दोलनका कारण चारवटा मेडिकल कलेजको पठनपाठन ठप्प भएको छ । वीरगन्जको नेसनल, कास्कीको गण्डकी, चितवनको चितवन र रुपन्देहीको युनिभर्सल मेडिकल कलेज ठप्प भएका हुन् ।
नेसनल कलेजमा झन्डै एक महिनादेखि आन्दोलित विद्यार्थीलाई विहीवार कलेज प्रशासनले ज्यान मार्ने धम्की दिएको छ । धर्नामा बसेकालाई धम्काइएको र राती अबेरसम्म छात्रावास प्रवेश गर्न नदिइएको विद्यार्थीले बताएका छन् । त्यस्तै कान्तिपुरमा मन्त्रिपरिषद् पुनर्गठनमा केहीलाई ‘सरप्राइज’ केहीलाई ‘धोका’ शिर्षकमा प्रमुख समाचार लेखिएको छ । अन्नपूर्ण पोस्टले मन्त्री हेरफेर सत्तारुढमै असन्तुष्टि शिर्षकमा प्रमुख समाचार लेखेको छ ।
अन्नपूर्ण लेख्छ– मन्त्री हेरफेरपछि नेकपामा असन्तुष्टि देखिएको छ । निर्वतमान कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले बुधबारै यसको संकेत गरेका थिए । शीर्ष नेताहरु बालुवाटारमा बैठक बसिरहेका बेला उनले सञ्चारकर्मीसँग भनेका थिए, ‘प्रधानमन्त्रीज्यूले म र मातृकाजीलाई हटाउन खोज्नुभएको छ । अरु साथीहरु बलिको शिकार नभए हुन्थ्यो ।’ भिसामा हेपियो नेपाल शिर्षकमा समाचार लेखेको छ । समाचार अनुसार पुरानो मित्र मुलुक थाइल्याण्डले शक्तिशाली मुलुकको नक्कल गरी नेपालीलाई प्रवेशाज्ञा (भिसा )दिन कडाइ गरेको छ । भिसाका लागि थाइल्यान्डले नेपालीसँग कम्तीमा १ लाख रुपैयाँ मौज्दात भएको बैंक विवरण, नाता प्रमाणितको अंग्रेजी अनुवाद, होटल बुक गरेको कागज र भिसा शुल्क तीन हजार ६ सय रुपैयाँ तिरेको भौचरसहित उपस्थित हुनुपर्ने सर्त राखेको छ । यो सर्त तीन महिनाको एकल प्रवेशका लागि हो ।
