काठमाडौं। जापानले नेपालको तराई क्षेत्रमा सञ्चालनमा रहेका सिंचाई आयोजनामा सहयोग गर्ने भएको छ। जापानको कृषि, वन तथा मत्स्य पालन मन्त्रालयको प्रतिनिधीमण्डलले ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनसँग भेट गरी सिंचाई क्षेत्रमा सहयोग गर्ने प्रस्ताव गरेको हो।
जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयको विदेश मामिला हेर्ने विभागका उपमहानिर्देशक नाकाडा टाहामीको नेतृत्वको टोलीले सोमबार मन्त्री पुनसँग भेट गरेको हो। जापानी राजदूत मसामिची साईगो समेत सहभागी बैठकमा सिंचाई र जलविद्यूत क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो। उपमहानिर्देशक नाकाडाले कृषि, जलस्रोत र सिंचाईको क्षेत्रमा जापानले गर्दै आएको सहयोगको निरन्तरता हुने भन्दै थप सहयोग गर्न जापान तयार रहेको बताए।
मन्त्री पुनले सरकारले सिंचाईतर्फ ठूला आयोजना अघि बढाइरहेको, तराईमा बाह्रै महिना सिंचाई उपलब्ध गराउने गरी तयारी गरेको र पहाडमा लिफ्ट सिंचाईको लागि काम भइरहेको जानकारी दिए। उनले जापानले कन्काई सिंचाई आयोजनामा पुर्याएको सहयोगप्रति धन्यवाद दिंदै सिंचाईको क्षेत्रमा थप सहयोगको अपेक्षा गरेको बताए।
मन्त्री पुनले ऊर्जा मन्त्रालय मातहत रहेको अनुसन्धान केन्द्रलाई सरकारले पहिलो पटक अनुसन्धानको लागि २० करोड रुपैयाँ बजेट बिनियोजन गरेको जानकारी दिए । उक्त संस्थासँग सहकार्य गर्न पनि उपनिर्देशक टाहामीसँग मन्त्री पुनले आग्रह गरे।
सिक्टा सिंचाई परियोजनामा घुलनशिल माटोको समस्या देखिएको भन्दै समाधानका लागि सघाउन समेत मन्त्री पुनले आग्रह गरेका थिए। भेटमा नलसिंङगाड जलविद्युत परियोजनाको बारेमा समेत छलफल भएको थियो। मन्त्री पुनले नलसिंङगाड जलविद्युत परियोजनामा जापानको लगानी र सहयोग हुने कुरामा नेपाल सरकार ढुक्क भएको बताएका थिए।