धनगढी १३ कार्तिक- सुदूरपश्चिम प्रदेशको ३ लाख २२ हजार हेक्टर खेतीयोग्य जग्गामध्ये साढे १ लाख हेक्टरमा सधैं मल अभाव हुने गरेको छ । प्रादेशिक कृषि निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकले मागभन्दा आधा कम मल आपूर्ति भइरहेको देखाएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेडको केन्द्रीय कार्यालयले प्रादेशिक कार्यालय धनगढीलाई मागको आधा मात्र मल पठाउँदा प्रदेशको आधा खेतीयोग्य जग्गामा मल अभाव हुँदै आएको निर्देशनालयका प्रमुख यज्ञराज जोशीले बताए ।
सरकारी अनुदानको मल विक्री वितरणको जिम्मेवारी कृषि सामग्री कम्पनी लिमिटेड धनगढी र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड धनगढीले पाएका छन् । हिउँदे बाली लगाउने समयमा फेरी सुदूरपश्चिममा रसायनिक मलको अभाव भएपछि किसानहरु चिन्तित छन् ।
कैलालीको जोसिपुरका लाल सिंह कठरिया मल लिन आउँदा सधै सास्ती खेपतु परिरहेको बताउँछन् । धान बाली भित्र्याएर गहुँ, तोरी, मसुरो, आलुलगायत हिउँदे बाली लगाउने समयमा सुदूरपश्चिम प्रदेशमा मलको अभाव छ ।
समयमा मल नपाएपछि किसानहरु चिन्तित छन् । आलु, तोरी, मसुरो तथा तरकारी लगाउने समय सुरु भएपनि प्रदेशमा रसायनिक मलको मौज्दात नै छैन । धनगढी उपमहानगरपालिका–५ जाईकी पदमा चौधरीले मल नहुदाँ खेती गर्न समस्या भइरहेको बताइन् ।
किसानको आवश्यकता अनुसार मल आपूर्ति गर्न नसकिएको कृषि सामग्री कम्पनी लिमिटेड, प्रादेशिक कार्यालय धनगढीका प्रमुख नवलसिंह बोगटी स्वीकार गर्छन् ।
धान र गहुँको दुई याममा गरिने खेतीका लागि वार्षिक ३० हजार मेट्रिक टनभन्दा बढी मल आवश्यक पर्ने भए पनि करिब १७ हजार मेट्रिक टन मात्र आपूर्ति हुने गरेको उनले बताए ।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड धनगढी कार्यालयका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेले माग अनुसार मल नआउँदा प्रदेशमा मलको अभाव हुने गरेको बताए ।
कृषकको सहजताका लागि २०७० सालदेखि कृषि सामग्री कम्पनीको मल साल्ट ट्रेडिङले पनि विक्री गर्न पाउने व्यवस्था गरिएको थियो । प्रदेशका ८८ ओटै स्थानीय तहमा पु¥याउने उद्देश्यले मल वितरण गरिरहेपनि केन्द्रबाट मागको ५० प्रतिशत मात्र मल आउँदा समस्या भएको कार्यालयले बताएको छ ।
सुदूरपश्चिममा ३ लाख २२ हजार हेक्टर खेतीयोग्य जमीनमध्ये १ लाख ८१ हजार हेक्टरमा धान र ८५ हजार हेक्टरमा गहुँखेती हुँदै आएको छ । प्रदेशलाई वार्षिक ५ लाख ६१ हजार ७ सय ४५ मेट्रिक टन खाद्यान्न आवश्यक पर्छ ।
हाल ४ लाख ९५ हजार ६ सय ८९ मेट्रिक टन उत्पादन छ । यो आधारमा वार्षिक ६६ हजार ५६ मेट्रिक टन खाद्यान्न अन्यत्रबाट आपूर्ति गर्नु परिरहेको छ ।
जिवन बिष्ट / शिलापत्र डटकमबाट