५ असोज, २०७६
आजका पत्रपत्रिकामा राजनीतिक घटनाक्रम र सामाजिक विषयबस्तुलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ । कान्तिपुर दैनिकले हिमाली जिल्ला लम्जुङमा किताबै नबोकी विद्यार्थी स्कुल गएको विषयलाई प्राथमिकता दिएको छ । समाचार अनुसार लमजुङको बेंसीसहर नगरपालिका–९ को जनज्योति माविका विद्यार्थी पुस्तक विनै विद्यालय जाने गरेका हुन् । पुस्तक नभएर विद्यार्थी यसरी विद्यालय जाने गरेको धेरैलाई लाग्न सक्छ । कान्तिपुरका अनुसार, जनज्योति माविका कक्षा १ देखि १० सम्मका १ सय ६० विद्यार्थीलाई घरबाट विद्यालय टाढा भएकाले दुई सेट किताब व्यवस्था गरिएको छ । उनीहरूले घरबाट स्कुल जाँदा र फर्किंदा किताब बोक्दैनन् । उनीहरू हरेकसँग विद्यालय र घरमा गरी २ सेट किताब छ । कक्षाकोठामा राखिएको किताब विद्यालयले नै व्यवस्था गरिदिएको हो । घरमा राखिएको किताब सरकारले दिएको अनुदानबाट खरिद गरिएको हो । विद्यार्थीहरू गृहकार्यका लागि केही कापीबाहेक कलमसमेत बोक्दैनन्
डेंगु संक्रमितको उपचारमा लापरबाही
नागरिक दैनिकले डेंगु संक्रमितको उपचारमा लापरबाही गरिएको समाचार छापेको छ । यो समाचार सुदूरपश्चिम प्रदेशको हो । समाचारमा लेखिएको छ, ‘सुदूरपश्चिमका अस्पतालमा डेंगु संक्रमितलाई झुलभित्र राखेर उपचार नगर्दा अन्य बिरामी र कुरुवा जोखिममा परेका छन् । ‘डेंगु संक्रमण भएका बिरामीलाई अन्य बिरामीको बीचमा खुला रुपमा राख्नु गलत भएको स्वास्थ्यविज्ञ बताउँछन् ।’ नागरिक दैनिकले आन्तरिक विवादका कारण नेपाली कांग्रेसको संगठन भद्रगोलपूर्ण अवस्थामा पुगेको समाचार पनि छापेको छ ।
अबैध रुपमा अकुत सम्पत्ति जोडेका २० ‘हाइप्रोफाइल’ व्यक्तिको आयस्रोत खोजिँदै
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अकुत सम्पत्ति रहेको भन्दै अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात र पूर्वआयुक्त राजनारायण पाठकमाथि पनि छानबिन गरिरहेको छ । बस्न्यातसँग अर्बभन्दा बढी सम्पत्ति रहेको उजुरीका आधारमा अनुसन्धान थालिएको हो । यद्यपि, हालसम्मको अनुसन्धानमा उनकै नाममा मात्र धेरै सम्पत्ति नदेखिएको स्रोत बताउँछ । बत्तीसपुतलीमा घर भएका बस्न्यातको होटेल, रिसोर्ट, ब्यांक्वेट तथा म्यानपावर कम्पनीमा भएको लगानीको विवरण विभागले संकलन गरिसकेको छ । आफन्तहरूको नाममा धेरै सम्पत्ति रहेको सूचना पाएपछि विभागले त्यसतर्फ अनुसन्धान केन्द्रित गरेको छ ।
बस्न्यातसँग बालुवाटारको जग्गा प्रकरणमा अख्तियारले समेत बयान लिइसकेको छ । उनी भौतिक योजना मन्त्रालयको सचिव हुँदा सो जग्गा मोहीलाई दिनेसम्बन्धी प्रस्ताव अघि बढाएका थिए । अख्तियारको प्रमुख आयुक्त हुँदा धेरै गम्भीर उजुरी तामेलीमा राखेपछि उनी विवादमा मुछिएका थिए । त्यस्तै, अख्तियारको आयुक्त हुँदा ७८ लाख घुस प्रकरणमा मुछिएका पाठकमाथि अख्तियारले समेत मुद्दा चलाइसकेको छ ।
नेपाल इन्जिनियरिङ क्याम्पसको विवादमा लम्बोदर न्यौपानेको पक्षमा निर्णय गराइदिने भन्दै उनले घुस लिएका थिए । काम पनि नगरेको र घुस पनि फिर्ता नगरेपछि घुस लेनदेन कुराकानीको भिडियो बनाएर आयोगमा उजुरी परेको थियो । उनी ७८ लाख धरौटी बुझाएर छुटेका छन् । लामो समय महान्यायाधिवक्ता कार्यालयमा काम गरेका पाठक करिब चार वर्षसम्म अख्तियारमा आयुक्तको जिम्मेवारीमा थिए । अख्तियारमै रहँदा अकुत सम्पत्ति आर्जन गरेको उजुरी परेपछि सम्पत्ति शुद्धीकरण विभागले समेत विस्तृत अनुसन्धान थालेको स्रोत बताउँछ ।
टर्कीबाट बिनातलब फर्किएकालाई क्षतिपूर्ति
कारोबार दैनिकमा करार अबधिमा नै सेवासुविधा नपाएर नेपाल फर्काएका १७० युवाले उजुरी गरेपछि टर्कीको रोजगारदाताले १ करोड रुपैयाँ क्षतिपूर्ति दिएको छ । नेपालबाट श्रम स्वीकृत लिएर गएका श्रमिकलाई करार अवधिमै विना सेवासुविधा स्वदेश फर्काएपछि नेपाल सरकारको लामो कुटनीतिक प्रयासपछि टर्की रोजगारदाताले सो क्षतिपूर्ति दिएको हो ।

