डडेल्धुरा, २९ भदौ
डडेल्धुराको अमरगढी नगरपालिकाका नगरप्रमुख विश्वेश्वर प्रसाद ओझाले जन्म दिनको अवसरमा एक महिनाको सेवा सुविधाबापत पाउने तलब(भत्ता नेपाल भ्रमण वर्षको प्रचार प्रसारका लागि खर्च गर्ने घोषणा गरेका छन् । शनिबार परेको जन्मदिनको अवसरमा मेयर ओझाले नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै जाँदा आफुले एक महिनामा पाउने तलबसहितको सम्पूर्ण सेवा(सुविधा पर्यटकीय क्षेत्रहरुको विकास र प्रचार(प्रसारका लागि खर्च गर्ने बताएका हुन् ।
जन्मदिनमा गरिने फजुल खर्चलाई कटाएर विगत केही वर्षदेखि सामाजिक क्षेत्रमा लगानी गर्दै आएका मेयर ओझाले यस वर्षको जन्मोत्सवमा अमरगढी नगरपालिकाभित्रका पर्यटकीय क्षेत्रको प्रचार–प्रसारमा खर्च गर्ने भएका हुन् ।
उनले नेपाल भ्रमण वर्षजस्तो पवित्र अभियानको लागि साथ दिन हरेक वर्ग, तह र तप्कालाई अनुरोध पनि गरेका छन् । नेपाललाई विश्वसामु चिनाउँदै यहाँका पर्यटकीय गन्तव्यहरुको प्रचार–प्रसारका लागि आफुले जन्मोत्सवबाटै अभियानको थालनी गरेको मेयर ओझाले बताएका छन् ।