धनगढी, २४ भदौ ।
नविल बैंक कञ्चनपुरको रकम लुटिएको सम्बन्धमा ६ वर्षपछि प्रहरीले बैंकका तत्कालीन सुरक्षा गार्ड र गाडी चालकलाई सोधपुछ शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले तत्कालीन सुरक्षा गार्ड गंगादत्त भट्ट र गाडी चालक दिल बहादुर चन्दलाई सोधपुछका लागि सोमवार बोलाएको हो ।
दुई जनाले प्रहरीको अनुसन्धानमा सहयोग गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक सुदीप गिरीले बताए । उनीहरु दुबै जनाले नविल बैंकको जागीर भने छोडिसकेका थिए । चालक चन्द बैतडी र सुरक्षा गार्ड भट्ट कञ्चनपुरमा थिए । केही दिन चार थान पेस्तोल, फर्जी चेक, तमसुक र छापहरु सहित धनगढीमा पक्राउ परेका सञ्जय राणासंग ट्राफिक प्रहरीले प्रयोग गर्ने बेल्ट, नेमप्लेट र लुगा फेला परेपछि प्रहरीले नविल बैंक लुटपाटमा राणाको संलग्नता रहेको आशंकामा अनुसन्धान शुरु गरेको थियो ।
सोही घट्नाको थप अनुसन्धानका लागि दुबै जनालाई प्रहरीले सोधपुछका लागि बोलाएको हो । उनीहरुसंग नविल बैंकको घट्नाका सम्बन्धमा सोधपुछ भईरहेको प्रहरीले जनाएको छ । २०७० साल मंसिर २५ गते नविल बैंक कञ्चनपुरबाट नेपाल राष्ट्र बैंक धनगढीमा राख्न ल्याउदै गरेको दुई करोड ३० लाख ६० हजार रुपैया कैलालीको मालाखेतीमा गाडीबाट लुटिएको थियो । लुटपाटमा संलग्न व्यक्तिहरु ट्राफिक प्रहरीको पोशाकमा रहेका थिए ।
पश्चिम टुडेबाट
