निर्माण गरेको डेढ वर्ष बित्दा पनि ठेकेदारले हस्तान्तरण गर्न पाएनन्
कञ्चनपुर
‘महेन्द्रनगर सिटी हल’ बनाउन झन्डै एक दशक लाग्यो । तर, बुझिलिने निकाय नहुँदा निर्माण सम्पन्न भएको डेढ वर्षपछि पनि हल प्रयोगमा आउन सकेको छैन । साढे १० करोड रुपैयाँ लागतमा भीमदत्त नगरपालिका–४ मा बनेको हल अलपत्र छ ।
तत्कालीन महेन्द्रनगर नगर विकास समितिले ०६५र०६६ मा श्यामसुन्दर गौरी–पार्वती जेभी कम्पनीलाई भवन निर्माणको ठेक्का दिएको थियो । तर, सरकारले ०७२ मा नगर विकास समितिको कामकाज र खाता रोक्का गरिदियो ।
०७५ मा आएर सरकारले समिति नै खारेज गरिदिएपछि ठेकेदार कम्पनीले निर्माण सम्पन्न भएको भवन हस्तान्तरण गर्ने निकाय फेला पार्न सकेको छैन । ठेकेदार कम्पनीले एक करोड रुपैयाँ भुक्तानी पाउन पनि बाँकी रहेको बताएको छ ।
‘महेन्द्रनगर नगर विकास समिति विघटन भएपछि हस्तान्तरण प्रक्रिया रोकिएको छ,’ श्यामसुन्दर गौरी–पार्वती जेभी कम्पनीका सञ्चालक रामकुमार थापाले भने, ‘एक करोड भुक्तानी लिन पनि बाँकी छ ।’ सहरी विकास कार्यालयले संघीय कार्यान्वयन एकाइ धनगढीलाई सिटी हल बुझ्न पत्र पठाएकोसमेत उनले बताए ।
दुई वर्षमा सक्नुपर्ने काम झन्डै एक दशक
दुई वर्षभित्रै निर्माण पूरा गर्ने भनिए पनि कम्पनीले काम सक्न झन्डै १० वर्ष लगायो । सुरुदेखि नै कम्पनीले सम्झौताअनुसार काम गरेन । जसका कारण निर्माण सम्पन्न हुने वेलासम्म पाँचपटक म्याद थप्नुप(यो ।
विघटित नगर विकास समितिका पूर्वसूचना अधिकारी पुष्पराज भट्टले अस्थिर समितिका कारण समस्या भएको बताए । ‘यो सिटी हल निर्माण कार्य सुरु भएदेखि समिति सातपटक फेरियो,’ भट्टले भने, ‘समितिमा धेरै काम गर्ने कोही भएनन्, त्यसैले निर्माण कार्य धकेलिँदै गएको हो ।’ काम रोक्का र समिति विघटन हुँदा हस्तान्तरण प्रक्रियामा ढिलाइ भएको उनको भनाइ छ । संघीय एकाइ कार्यान्वयन कार्यालय धनगढीले भवन बुझेर सञ्चालन गर्नुपर्नेमा सुझाब उनले दिए ।
महेन्द्रनगरका स्थानीयले निर्माण कम्पनी र नगर विकास समितिबीच समन्वय अभावका कारण निर्माण कार्यमा ढिलाइ भएको बताए । शान्ति निकेतन उच्च माविका संयोजक परमल साउदले सुरुका चरणमा निर्माण कम्पनीको लापरबाहीका कारण ढिलाइ भए पनि अहिले सरकारी निकायका कारण समस्या भएको बताए ।
साढे पाँच बिघा क्षेत्रफलमा निर्माण भएको तीनतले सिटी हलमा तीन हलका साथै चेन्जिङ रुम छन् । एक हजार, दुई सय र ५० जना क्षमताका तीनरतीन हल निर्माण भएका छन् । हलको चारैतिर पर्खाल, गेट, पालेघर, पार्किङ पनि निर्माण गरिएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गसँगै जोडिएको सिटी हल सञ्चालनमा नआउँदा चर्को भाडा तिरेर निजी हल, होटेल प्रयोजन गर्नु परेको स्थानीयको गुनासो छ ।
नयाँ पत्रिका दैनिकबाट