महेन्द्रनगर,
राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरको अध्यक्षमा पुनः शिवी लुहार चयन भएका छन् । मुक्ति समाजले ११ औं मुक्ति दिवसको अवसरमा जिल्ला समितिको छैठौ अधिवेशनबाट लुहारको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ ।
समाजको उपाध्यक्षमा नानाराम कोली, सचिवमा उत्तम ओड र कोषाध्यक्षमा लक्ष्मी सुनार सेराला चयन भएका छन् । जिल्ला समितिमा सबै स्थानीय तहबाट सदस्य चयन गरिएका छन् । उनीहरुमा बल बहादुर चुनारा, गंगादेवी राना, देबी सुनार, शान्तिदेबी कामी, वसन्तीदेबी सुनार, जोग सुनार, जानकी ताम्रकार सदस्य छन् ।
समाजले ११ औं मुक्ति दिवसको अवसरमा जिल्ला अधिवेशन गरेको छ ।
सुदूरपश्चिम प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ । मन्त्री चौधरीले कार्यक्रममा मुक्त हलियाको समस्या समाधानका लागि सरकारले लागि परेको उल्लेख गर्दै मुक्त हलिया पुनस्र्थापनलाई पूर्णता दिइने बताइन् ।
समाजका अध्यक्ष लुहारको अध्यक्षतामा गरिएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उद्योग, वन, वातावरण तथा पर्यटन राज्यमन्त्री प्रकाश रावल, भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट, पूर्व सभासद् हरि श्रीपाइली, राष्ट्रिय मुक्त हलिया समाज महासंघका अध्यक्ष ईश्वर सुनार लगायतले मुक्त हलिया पुनस्र्थापन कार्यक्रमलाई सहयोग गर्ने प्रतिवद्धता जनाए ।
उद्घाटन कार्यक्रम बन्द सत्रबाट नयाँ कार्य समिति चयन गरिएको छ । सरकारले २०६५ भदौ २१ गते हलिया मुक्तिको घोषणा गरेको दिनलाई मुक्ति दिवसका रुपमा मनाउने गरिएको छ ।