धनगढीबाट बौनिया जादै गरेकी लक्ष्मी रिमालको रिक्सामा छुटेको तीन तोला सहितका गहना सीसी टिभीको सहयोगले आईतवार बरामद भएको छ । हिजो दिउसो क्याम्पसरोडबाट अटोरिक्सा चढेर चौराहा पुगेकी रिमाल रिक्सामै गहना र सुन बिर्सेर बसमा चढिन । उनले एकछिनमै गहना र सुन अटोरिक्सामा बिर्सिएको थाहा पाएपछि उनको होस हवास उड्यो ।
तत्काल बस छोडेर अटोरिक्साको खोजीमा जुटिन । अटोरिक्सा चालक त्यहाँबाट अन्यत्र गईसकेका थिए । उनले हिजो अवेरसम्म अटोरिक्सा चालकको खोजी गरिन । प्रहरीमा जाहेरी दिईन । अटोरिक्सा चालक कही भेटिएनन । प्रहरीमा उजुरीपछि गरेपनि वडा प्रहरी कार्यालयले अटो खोजीका लागि एउटा जुक्ति निकाल्यो— बजारका बिभिन्न स्थानमा राखिएका सीसी टीभीको फुटेज हेर्ने । शहरका बिभिन्न स्थानमा व्यवसायिक फर्मले राखेका सीसी टीभीको फुटेज हेर्ने क्रममा प्रहरीले पिडित रिमाललाई समेत राखेर चौलानी डिपार्टमेण्टल स्टोरमा राखिएको सीसी टीभीको फुटेज हे¥यो ।
फुटेजमा अटोरिक्सा चालक देखिए । अटोरिक्साको नम्बर र चालक त्यही फुटेजका आधारमा पत्ता लाग्यो । त्यही आधारमा प्रहरीले अटोरिक्सा चालकको खोजी शुरु ग¥यो । र आईतवार दिउसो अटोरिक्सा चालक धनगढी उपमहानगरपालिका—३ का नत्थु अछामी फेला परे । उनले आफूसंग सुरक्षित रहेको सुन र गहना आईतवार दिउसो वडा अध्यक्ष बल बहादुर ऐर मार्फत लक्ष्मी रिमाललाई सुम्पिए । एक थान तिलहरी, एक थान जन्तर र डेढ तोला सुन हराएपछि चिन्तित भएकी रिमाल हराएका सबै गहना र सुन पाउदा दंग भईन ।
धनगढी बजारका बिभिन्न स्थानमा जिल्ला प्रहरी कार्यालय कैलालीले राखेका सीसी टीभीहरु बिग्रिदा ध्यान नदिएको प्रहरीले बजारमा चोरी वा कुनै दुर्घटना हुदा यसरी व्यवसायीहरुको सीसी टीभीको सहारा लिनुपरेको छ । सर्वसाधारण, व्यवसायीबाट रकम उठाएर नगरका बिभिन्न स्थानमा राखिएका सीसी टीभी बिग्रेको महिनौ बित्दा पनि प्रहरीले त्यसलाई मर्मत गरी सञ्चालनमा ल्याउन भने चासो देखाएको छैन ।