तीन वर्ष पहिले क्यामेरा ट्रयापिङमा नदेखिएको हिमचितुवाले विगत एक महिनादेखि दार्चुलाको अपि हिमाल गाउँपालिका–१ घुसाको पाटन क्षेत्रमा भेडाबाख्रा खान थालेको छ । सो क्षेत्रमा हिमचितुवाको बासस्थान हुन सक्ने अनुमान गरी तीन वर्ष पहिले अपि नाम्पा संरक्षण क्षेत्रले क्यामेरा ट्रयापिङमार्फत अध्ययन गरेको थियो ।
‘त्यतिबेला चिन्हमात्रै देखिएको थियो । अहिले त पशुपालक किसानका भेडाबाख्रा खाएको जानकारी दिन आइपुगेका छन्,’ अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सहायक संरक्षण अधिकृत राजु घिमिरेले बताए ।
घुसाको लालु क्षेत्र हिमरेखाको नजिकै रहेको छ । पीडितले दिएको जानकारीअनुसार भेडाबाख्रा खाने हिमचितुवा नै हुन सक्ने सहायक संरक्षण अधिकृत घिमिरेले बताए । पीडितहरूले लिखित निवेदन दिए नियमानुसार क्षतिपूर्तिसमेत दिइने उनले बताए । चरन क्षेत्रमा पु¥याइएका ७० भन्दा बढी भेडाबाख्रा हिमचितुवाले खाएको अपि हिमाल गाउँपालिका–१, का चन्द्रसिंह कार्की बताउँछन् । विगत एक महिनादेखि प्रत्येक दिन तीन÷चार वटाका दरले भेडाबाख्रा खान थालेपछि भेडाबाख्रालाई बस्ती नजिकै ल्याउनु परेको उनी बताउँछन् । यो क्षेत्रमा लालु, गौंथलीघोल, कालीढुंगा, भवय वन र रोखापु वन क्षेत्रमा भेडाबाख्रा खान थालेको स्थानीयले बताएका छन् ।
सबैभन्दा बढी लालुको कालीढुंगा क्षेत्रमा स्थानीय रघु धामीका ३६ भेडाबाख्रा हिमचितुवाले खाएको चन्द्रसिंह कार्कीले बताए । भवय वनमा दलबीर धामीका २० र लोलुमै चन्द्रसिंह कार्कीका १० भेडा पनि हिमचितुवाले खाएको स्थानीय बताउँछन् । प्रत्येक दिन भेडाबाख्रा हिमचितुवाले खाने गरेको र घुसा क्षेत्रका दर्जनभन्दा बढी स्थानीयका भेडाबाख्रा सो क्षेत्रमा चरनका लागि लगिएको बताउँदै स्थानीय मदनसिह कार्की भन्छन्, ‘चरन क्षेत्रमा बाघले बाख्रा खान थालेपछि भेडाबाख्रालाई बस्तिनजिकैको डौठामा ल्याइएको छ ।’