अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गएको शनिबार (स्थानीय समय) धन्धाधुन्ध गोली प्रहारबाट २२ जनाको ज्यान गएको टेक्सासको एल पासो पुगेका छन् ।
राष्ट्रपति ट्रम्पले केही घण्टाको बिचमा दुई ठाउँमा भएका अन्धाधुन्ध गोली प्रहारका घटनामा ३१ जनाको निधन भएपछि ती क्षेत्रको भ्रमण गरेका हुन् । एल पासोमा गोलीकाण्ड भएको झण्डै १४ घण्टापछि ओहायोको डेटनमा अन्धाधुन्ध गोली प्रहार हुँदा ९ जनाको ज्यान गएको थियो ।
टेक्सासको एल पासोमा भएको गोलीकाण्डमा हिस्प्यानिस सामुदायलाई लक्षित गरिएको थियो । राष्ट्रपति ट्रम्पमाथि नै हिस्प्यानिस समुदायप्रति घृणा भाव रहेको आरोप लाग्दै आएको छ ।
पहिले ओहायोको डेटन पुगेका ट्रम्प त्यसपछि एल पासो गएका हुन् । डेटनमा उनले गोलीकाण्डमा बाँच्न सफल भएकाहरुलाई अस्पतालमा गएर भेटेका थिए ।
राष्ट्रपति ट्रम्पले वासिङ्गटन फर्किनुअघि बढ्दै गएको घृणा, ‘ह्वाइट सुप्रिमेसी’ वा अरु कनै प्रकारको ‘सुप्रिमेसी’ प्रति आफ्नो ध्यानाकर्षण भएको बताए ।
तर डेमोक्र्याटिक पार्टीका तर्फबाट कंग्रेसमा प्रतिनिधित्व गर्ने एल पासोकी नेतृ वेरोनिका एस्कोबारले ट्रम्पसँग भेट गर्न अस्वीकार गरिन् । ट्रम्पको ‘रंगभेदी तथा घृणा फैलाउने खालको वक्तव्यहरु’ का कारण आफ्नो समुदाय र देशले पीडा तथा शोक भोग्नु परेको उनले आरोप लगाएकी छन् ।
एल पासोमा भएको गोलीकाण्ड ‘हेट क्राइम’ हुन सक्ने भन्दै अनुसन्धान धालिएको छ।