धनगढी, १७ साउन –
कैलालीमा नक्कली नोटको विगविगी बढेको छ । केही समयदेखि रोकिएको नक्कली नोटहरु फेरि विभिन्न स्थानमा देखिन थालेका हुन् । नक्कली नोटको कारोवार गर्नका लागि गिरोह नै सक्रिय भएको प्रहरीले जनाएको छ । केही दिन अगाडि पनि धनगढीको पिपल चौतारा स्थित तरकारी पसलमा नक्कली नोट फेला परेको थियो । एक पछि अर्काे गर्दै धनगढीमा नक्कली नोट फोला पर्न थालेपछि प्रहरीलाई चुनौती थपिएको छ ।
यसैबीच जिल्ला प्रहरी कार्यालय कैलालीले नक्कली नोट सहित एक जनालाई पक्राउ गरेको छ । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ५ का ३४ वर्षीय छेदुराम डगौरा चौधरीलाई प्रहरीले नक्कली नोट सहित पक्राउ गरेको हो । एक हजारका १७ नक्कली नोट दिएर पाँच सय दरका नोट सटहि गर्न लागेको सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
धनगढी उप–महानगरपालिकाको वडा नम्बर १ स्थित सेती अस्पतालको फार्मेसीमा उनले नोट सटही गर्न लागेको प्रहरीसम्म सूचना पुगेपछि प्रहरी उनको खोजीमा लागेको थियो । हुलियाको आधारमा चौधरीलाई प्रहरीले उप–महानगरपालिकाकै वडा नम्बर १ बाट पक्राउ गरेको हो ।
चौधरीको साथबाट एक हजारका थप ४ वटा सहित २१ वटा नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ । खोटा चलान शिर्षकमा अदालतबाट म्याद थप गरि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
