काठमाण्डौ– राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले संविधान संशोधनका लागि सभामुखबाट निर्देशनका लागि माग गरेको छ।
सभामुखबाट प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ राजपाका सांसद आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि राजपाका सांसद प्रमोद साहलाई पार्टीका तर्फबाट धारणा राख्न समय दिइएको थियो।
सांसद साहले संविधान संशोधन अपरिहार्य भएको हुँदा सभामुखबाट यसका लागि ‘रुलिङ’ होस् भन्ने माग राखे। उनले संविधान संशोधन गर्न माग गर्दै भएको आन्दोलनमा १२५ जनाको सहादत हुँदा पनि आवश्यकता र औचित्यका आधारमा संशोधन हुन्छ भन्ने भनाइ आइरहँदा तराई मधेशका जनता अचम्ममा परेको भएको उल्लेख गरे।
सांसद साहले भने ‘संविधान संशोधनको विषय बारम्बार उठिरहेको छ, प्रधानमन्त्रीबाट पनि आवश्यकता र औचित्यका आधारमा संशोधन हुने प्रतिबद्धता हँुदै आएको छ। मधेशी समुदायका १२५ जना सहादत हुँदा पनि आवश्यकता र औचित्य नदेखिनु अचम्मको विषय बनेको छ, यतिका दिनसम्म किन संविधान संशोधन हुन सकेन।’
‘संविधान बनाउनेबाट नै संविधान उल्लंघन भइरहेको छ, लोकसेवा आयोगले संविधान र कानूनको उल्लंघन गरेर स्थानीय तहका लागि ठूलो सङ्ख्यामा पदपूर्तिको विज्ञापन गरेको छ, त्यसलाई सच्याइनुपर्छ, बजेटको प्रकृति हेर्दा पनि संघीयता विपरीत ढंगबाट आएको छ’ उनले भने।