काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आलोपालो प्रधानमन्त्री हुने विषयले अहिले चर्चा पाएको छ ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता हुँदा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको खुलासा गरेपछि नेकपाभित्र यसबारे बहस भइरहेको छ ।
नेता वामदेव गौतमले प्रचण्डको पक्षमा मत राख्दै सहमति अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले पद छाड्दै प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने मत राखेका छन् । तर वरिष्ठ नेता माधवकुमार नेपालले भने प्रचण्डलाई ठूलो झड्का लाग्ने भाषण गरेका छन् ।
वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओली नेतृत्वको सरकार पाँच वर्ष टिक्ने बताएका छन् । ‘देश समृद्धिको दिशातिर अघि बढिरहेको बेला सरकारलाई खल्बल्याउनु हुन्न, त्यसले विकासको गति अवरुद्ध हुन्छ,’ प्राध्यापक डा. आरके शाहद्वारा लिखित पब्लिक इकोनोमिक पुस्तक लोर्कापण कार्यक्रममा शुक्रबार भाषण गर्दै नेपालले भने, ‘केपी ओली नेतृत्वको यो सरकार ५ वर्ष नै चल्छ ।’
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक टेलिभिजन कार्यक्रममा १५ महिनापछि वतर्मान सरकारको नेतृत्व परिवर्तन हुने खुलासा गरेपछि नेपालको अर्थपूर्ण भनाइ आएको हो । नेपालले अहिलको अवस्थामा पार्टीमा फुट ल्याउने विषयहरू कसैले पनि उठाउन नहुने बताए ।
सहमति कार्यान्वयन नभए पार्टीमा खतरा आउन सक्ने संकेत समेत प्रचण्डले गरेका थिए । अब पार्टी नेताहरू सहमति कार्यान्वयनका सन्दर्भमा विभाजित हुन थालेपछि नेकपा फेरि फुटको संघारमा पुग्ने हो कि भन्ने चर्चा समेत हुन थालेको छ ।