कैलाली : सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरिरहेका नेकपाकै सांसदहरू निर्धारित समयमा उपस्थित नभएपछि सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित गरिएको छ।
जेष्ठ ८ गते दिउँसो २ बजेका लागि बोलाइएको बैठक सरकारकै आग्रहमा ३ बजेका लागि सारिएको थियो। तर, नेकपाकै सांसद र प्रदेश सरकारका मन्त्री नै साढे ३ बजेसम्म पनि उपस्थित नभएपछि बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।
प्रदेशसभा सचिवालयका निमित्त सचिव तेजप्रकाश जोशीले प्रदेशसभा बैठक सञ्चालनका लागि प्रतिपक्षी दल र सरकारको प्रतिनिधि समेत आवश्यक हुने भए पनि निर्धारित समयमा सरकारको प्रतिनिधि उपस्थित नभएकै कारण बैठक स्थगित भएको जानकारी दिए।
बैठक भोली दिउँसो २ बजेका लागि बोलाइएको छ। बैठक स्थगित हुनु अघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसदहरू प्रदेशसभा भवन भित्र प्रवेश गरिसकेका थिए।
करिब आधा घण्टासम्म प्रदेशसभा भवन भित्र बसेका उनीहरू सांसद अनुपस्थित भएको भन्दै बाहिरिएका थिए। प्रदेशसभा भवनबाट बाहिरिँदै नेपाली कांग्रेसका प्रदेशसभा सदस्य भरतबहादुर खड्काले निर्धारित समयमा सरकारकै प्रतिनिधि बैठकका लागि नपुगेको भन्दै खेद प्रकट गरे।
यता नेकपा संसदीय दलका नेता तारालामा तामाङले आफूहरू आन्तरिक छलफलमा रहेकोले केही ढिलाई भएको जानकारी दिए। उनले अगामी आर्थिक वर्ष २०७६–७७ को पूर्व बजेटबारे नेकपाका मन्त्री सासंदहरू छलफलमा रहेको बताए।