धनगढी, १० भदौ / सुदूरपश्चिम प्रज्ञा– प्रतिष्ठान र डेउडा प्रतिष्ठानले संयुक्तरुपमा आयोजना गरेको गौरा महोत्सव आजदेखि सुरु भएको छ । यस अघि भदौ ८, ९ र १० गते हुने भनिएको महोत्सवको मिति सारेर आजबाट सुरु भएको गौरा महोत्सव भदौ १२ गते सम्म रहने डेउडा प्रतिष्ठानका अध्यक्ष दल बहादुर बागटीले बताए ।
गौरा महोत्सवले हाम्रो संस्कार संस्कृतिको संरक्षण गर्न केहीँ हद सम्म भए पनि महत्त्वपुर्ण भुमिका खेल्ने विश्वास लिएको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका अध्यक्ष डा.टि. एन जोशीले बताए । नवौँ संस्करणको गौरा महोत्सव आज (भदौ १० गते) २ बजेबाट धनगढीस्थित पुरानो एयरपोर्ट (खुला मञ्च) मा सुरु भएको डेउडा प्रतिष्ठानका कोषाध्यक्ष प्रेम विबश चन्दले बताए ।
महोत्सवमा यस वर्ष विद्यालय स्तरिय खुला देउडा प्रतियोगिता आयोजना गरिएको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जोशीले बताए। डेउडा प्रतियोगितामा प्रथम हुनेलाई ११ हजार १ सय ११, द्वितीय हुनेलाई ७ हजार ७ सय ७७ , तृतीय हुनेलाई ५ हजार ५ सय ५५ र सान्त्वना हुनेलाई ३ हजार ३ सय ३३ नगद सहित प्रमाणपत्र प्रदान गरिने डेउडा प्रतिष्ठानले जनाएको छ ।
गौरा महोत्सवमा सहभागी हुनका लागि सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानले सबैलाई आह्वान गरेको छ। साथै गौरा महोत्सवले स्थानीय कलाकारलाई पनि समेटेर महोत्सवलाई अझ रोचक र समयानुकूल बनाउने प्रयास गरेको छ ।