धनगढी,२४ असार । कञ्चनपुरमा अविरल वर्षाले जनजीवन प्रभावित बनेको छ । जिल्लामा अहिलेसम्मकै देशभरिकै अत्यधिक वर्षा भएपछि जिल्लाभरिका नदी, खोलामा बाढी आउँदा गाउँ बस्ती डुबानमा परेको हो । आइतबार बिहान देखिको अविरल वर्षाले ठुला महाकाली, चौधर र दोदा नदीमा बाढी आउँदा बस्ती डुबानमा परेका हुन् । महाकाली नदीमा बाढी आउदा दोधरा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिकाका बस्ती डुबान मा परेका छन् ।
चौधर नदीमा बाढी आउँदा बेलडाँडि गाउँपालिका–५ भुर्सास्थित गणेश मावि नजिक नहर फुटेर बेलडाँडी र बेलौरीका बस्तीहरु डुबानमा परेका छ्न् । नहर फुटाएर नदी बस्तीमा पस्दा बेलडाँडीको इमलिया, झिलमिला, वैवाह, चवन्नी, खैरिघाट र बेलौरीको भुडा ,शिवनगर र सडकघाट डुबानको जोखिममा छन् । त्यस्तै दोदा नदीमा आएको बाढीले लालझाडी, बेलौरी र पुनर्वासमा सयौं घर डुबानमा परेका छन् । जिल्लाभरी डुबानमा परेका र डुबानको जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा सार्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र विभिन्न संघसंस्थाहरुले उद्धार कार्य गरिरहेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बताए ।
प्रजिअ सापकोटाका अनुसार अहिलेसम्म ५ सय ११ घर परिवारका १७ सयभन्दा बढी व्यक्तिहरुको उद्धार गरिसकेको छ । हिजो राती डुब्नै लागेका २९ जनालाई रबरबोटको माध्यमबाट सुरक्षित स्थानमा सारिएको, १ जना बलकको मृत्यु, १ युवक बेपत्ता भएको प्रजिअ सापकोटाले बताए ।
बाढीले वेदकोट नगरपालिका–७ सुडामा पूर्वपश्चिम राजमार्ग अन्तर्गत कल्भर्ट भत्किदा सडक अबरुद्ध भएको छ । त्यस्तै बेलौरी–धनगढी हुलाकी राजमार्गमा दोदा नदीमा बाढी आउदा सडक अबरुद्ध भएको हो ।प्रजिअ सापकोटाका अनुसार जिल्लामा केही समय पानी रोकिएकोले पानीको सतह घटिरहेको छ । ‘हामी अहिले फिल्डमै छौ, महेन्द्रनगर बजार लगायत बाढी प्रभावित क्षेत्रमा पानी घटिरहेको छ’, प्रजिअ सापकोटाले भने, ‘अहिले थप क्षति विवरण टिपिरहेका छौ, संघसस्थाको सहयोग राहत दिने र उद्धार कार्य जारी छ ।’ वर्षातमा बाढीबाट क्षति रोक्न सुरक्षा निकाय, विपद व्यवस्थापन समिति र गैरसरकारी संघसंस्थाबाट सयोग लिई पूर्वतयारी गर्ने गरिरहेको प्रजिअ सापकोटाले बताए ।