काठमाडौँ । असार २२ गते आज हुने भनिएको नेपाल पत्रकार महासंघको निर्वाचन पुनः स्थगित भएको छ । महासंघको केन्द्रीय निर्वाचन समितिले शुक्रबार बेलुका विज्ञप्ति जारी गर्दै शनिबारका लागि निर्धारित निर्वाचन स्थगित भएको जानकारी दिएको हो ।
‘निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन समिति प्रतिबद्ध रहँदा रहँदै पनि निर्वाचनका लागि सहज वातावरण बन्न नसकेको हुँदा मिति २०८१र०३र२२ मा निर्धारित मतदानको कार्यक्रम सम्पन्न हुन नसक्ने ब्यहोरा अवगत गराइन्छ । नेपाल पत्रकार महासंघबाट मतदान हुने मिति तोकी आएका बखत निर्वाचन कार्यक्रम अघि बढाउने ब्यहोरा अनुरोध गरिन्छ ।’ विज्ञप्तिमा भनिएको छ ।
महासंघले यसअघि जेठ २६ गतेका लागि निर्वाचनको मिति तय गरेको थियो । उक्त समयमा निर्वाचन स्थगित गर्दै असार २२ गतेका लागि मतदानको समय तय गरेको थियो । तर सदस्यता विवादले महासंघको निर्वाचन समयमा हुन सकेको छैन ।
