यमुना साउद । धनगढी,११ असार । नेपालमा युवाहरू बिदेसिने क्रम जारी रहेको बेला वैदेशिक रोजगारीबाट फर्केका राजेन्द्र विक्रम शाह भने कृषि व्यवसायबाट मनग्य आम्दानी गर्न थालेका छन् । राजेन्द्रले वैदेशिक रोजगारीबाट फर्केपछि एक वर्ष अगाडिबाट कृषि व्यवसाय सुरु गरेका हुन् । सेडल एग्री फर्म नै खोलेर उनले व्यवसाय सुरु गरेका छन् ।
धनगढी उपमहानगरपालिका– १३ स्थित कैलाली गाउँमा ४ बिगाहा जग्गा भाडामा लिएर कृषि व्यवसाय सुरु गरेको राजेन्द्र बताउँछन् । “झन्डै ४ वर्ष जति विदेशमा बसियो, अर्काको देशमा काम गर्न त्यति सहज थिइन् , समयको महत्त्व बुझेर काम गर्न सके राम्रो आम्दानी गर्न सकिन्छ । गाउँमै बसेर कृषिमा लागियो भने विदेशको भन्दा पनि राम्रो कमाइ गर्न सकिन्छ”, राजेन्द्र भने ।

कृषि व्यवसाय गर्न थालेको एक वर्ष भयो विभिन्न कृषिजन्य सामग्री अनुदानमा नपाएको भए पनि व्यवसायमा हौसला भने नघटेको राजेन्द्रको भनाइ छ । उनले भने “ विदेशमा ५८ डिग्री सेल्सियसमा दुः.ख गर्नु भन्दा नेपालमा केही गर्नुपर्छ भनेर नेपाल फर्किए , विदेशको जसरी डटेर काम गरे नेपालमा पनि नुहुने केही छैन । तर यहाँ कृषि गरेर बसेका युवाहरूलाई सरकारले सहजिकरण गरिदिएको भए सहज हुने थियो । कृषि लोन र अनुदान वास्तविक किसानहरूले मात्र पाउनुपर्छ । गैर किसानले पाउनु हुँदैन । मैले कृषि व्यवसायमा लागेको १ वर्ष भइसक्यो तर कृषिजन्य सामग्री र अनुदान केही पाएको छैन । तर म अहिले आफैँ राम्रो गर्ने प्रयासमा छु । ”

अहिले उनले फर्म भित्र तरकारी (लौकी , काँक्रा, बोडी , करेला, भिन्टी, खुर्सानी, टमाटर ,घिरौँला) भैसि पालन ,कुखुरा पालन , बाख्रा पालन र घाँस खेती सुरु गरेका छन् । बजार नजिकै भएको हुँदा कृषि उपज बिक्री गर्न उनलाई सहज भएको छ । उनका अनुसार खर्च कटाएर मासिक २ लाख लाखसम्म आम्दानी हुन्छ ।
घरपरिवारको साथमा रहेर गाउँमा कृषि व्यवसाय गर्न पाउँदा आनन्दको अनुभूति भइरहेको राजेन्द्र बताउँछन् । विदेशको भोगाइले गाउँमै बसेर तरकारी खेती गर्ने मोह जागेको उनी बताउँछन् । कृषि व्यवसायबाट राम्रो आम्दानी हुँदै जान थालेपछि जग्गा बढाएर व्यवसायलाई अगाडि बढाउने उनको सोच छ ।

उनले वार्षिक रु २लाख ४० हजार बुझाउने गरी जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गरेका हुन् । यस्तै उनले कृषि फर्ममा १६ जनाले स्थायी रूपमा मासिक पारिश्रमिक पाउने गरी ज्यालादारी रूपमा रोजगारी दिन सकेकोमा शाहले खुसी व्यक्त गरे । कहिले तरकारी खपत नहुने, कहिले कुहिने त कहिले जिल्ला बाहिरबाट आउने तरकारीसँग मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा धेरै दुःख खेप्नुपरेको किसान शाहको भनाई छ ।
विभिन्न कृषि उत्पादनसँग सम्बन्धित कार्यक्रम सञ्चालन गरिहरेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख हरि प्रसाद पनेरुले बताए । यस आर्थिक वर्षमा मकै उत्पादन, चैते धानको उत्पादनमा प्रयोग हुने यन्त्र उपकरण सहुलियतमा दिने उनले बताए । “साथ साथै किसानलाई उद्योगसँग जोड्ने अभियान जारी छ । किसानलाई तरकारी खेतीमा आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम र अनुदान प्रदान गर्ने कार्य भइरहेको छ । यसका साथै कृषि ज्ञान केन्द्रले प्राविधिक सेवा , तालिम दिने , जनचेतनामूलक कार्यक्रम ,यन्त्र उपकरणमा पनि सेवा दिने गरेको छ । ”

आगामी आर्थिक वर्षमा उत्पादनमा आधारित भएर अनुदानका कार्यक्रम सञ्चालन गर्ने कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख पनेरुले बताए । उनले भने “किसानले जति बढी उत्पादन गर्न सक्यो त्यही अनुसार अनुदान दिने हो । एक पटक अनुदान पाएको किसान नदोहोरिने किसिमले अनुदान दिने हो । ”
किसानलाई व्यवसायीकरण तर्फ आकर्षण गर्नको लागी विभिन्न कार्यक्रम गरिरहेको कृषि विकास निर्देशनालय डोटीका कृषि प्रसार अधिकृत राजेन्द्र बमले बताए । विभिन्न जिल्लाका तरकारी खेती गर्ने किसानलाई घरमै कम्पोस्ट मल बनाउने तालिम समेत दिएको उनले बताए । उनले भने “ किसानहरूलाई विभिन्न यन्त्र उपकरण दिएर सहयोग गरेका छौ । कृषि विकास निर्देशनालयले विभिन्न जिल्लामा कृषि जन्य उपज भण्डारणको लागी कुल च्यामबर निर्माण गरेका छौ । ”
