धनगढी, ९ असार/कैलालीको चुरे गाँउपालिकाका अध्यक्षले कार्यपालिका बैठकबाट निस्कन धम्की दिएका छन् । गाउँपालिकाको असार ८ गते कार्यालयमा बैठक चलिरहदा गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटीले उपाध्यक्ष धना थापा मगरलाई निस्कन धम्की दिएको बताइएको छ ।
गाउँ सभाको बैठक हुन पूर्व असार ८ गते कार्यपालिकाको बैठक चलिरहेको बेलामा आफूलाई बोल्न नदिएर बैठकबाट बाहिर जान धम्की दिएको उपाध्यक्ष थापा मगरले बताएकी छन् । असार ९ गते गाउँपालिकाको गाउँ सभा चल्ने भएको छ । ‘योजना तर्जुमा समितिको संयोजक उपाध्यक्ष रहने व्यवस्था भए पनि आफूहरूलाई कुनै जानकारी बिनै योजना ल्याएपछि बोल्न खोज्दा निकाल्न खोजे’ उपाध्यक्षले भनिन्–‘यसरी एकलौटी बहुमतको दम्भ देखाउँदै हाम्रो जनमतको अवमूल्यन गर्ने ।’ अहिले चुरे गाउँपालिका १७ सदस्यीय कार्यपालिकामा अध्यक्षसँग १४ र उपाध्यक्षसँग ३ सदस्यीय सङ्ख्या रहेको छ । पटक पटक गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष बिच विवाद भइरहेको हुन्छ । बहुमतको आडमा अध्यक्षले एकलौटी गरिरहेको आरोप उपाध्यक्षले लगाएकी छन् ।
उता गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटीले भने बैठक रुलिङ गरिरहेको बेला उपाध्यक्षले बिचमा बोल्न लागेपछि आवेगमा आएर बोलेको स्वीकारेका छन् । ‘बैठकको अध्यक्षता गर्ने अधिकार अध्यक्षको हो, मैले बैठकमा प्रस्ताव ल्याउँदा उपाध्यक्षले हरेकमा विरोध गर्दै आएकी छन्’ अध्यक्ष बोगटीले भने–‘बैठकमा हाम्रो भनाभन भएको थियो, पछि मैले आत्मालोचना समेत गरेको थिए ।’
कार्यपालिका बैठक चलिरहँदा अध्यक्ष र उपाध्यक्ष बिच विवाद भएर केही बेर बैठक अवरुद्ध भएको चुरे ३का वडा अध्यक्ष खगेन्द्र खडायतले बताएका छन् । बैठकको अन्तिममा अध्यक्षले आफ्नो गल्ती स्विकारेर यसलाई विवादको विषय नबनाउने भने पछि विषय सामसुम पारेको अध्यक्षले बताएका छन् ।