धनगढी २७ बैशाख/बझाङ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य दमन बहादुर भण्डारीले पद तथा गोपनीयताको शपथग्रहण गर्नु भएको छ । यही वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा भण्डारी बिजय भएका थिए ।
धनगढीमा बिबिार एक समारोहका बिच सभामुख भिम बहादुर भण्डारीले नवनिर्वाचित प्रदेश सभा सदस्य भण्डारीलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् ।
भण्डारी नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । योसँगै प्रदेश सभामा एमालेका ११ जना पुगेको छ । उनले ११ हजार ६१२ मत प्राप्त गरी बिजयी भएका थिए । निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अभिषेक बहादुर सिंहले ११ हजार ३४६ मत ल्याएका थिए ।भण्डारी र सिंहका बिच २६७ को मतान्तर रहेको थियो ।
२०७९ सालको निर्वाचनमा बझाङ (१) बाट विजयी नेपाली कांग्रेसका प्रदेशसभा सदस्य एवं तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि त्यहाँ वैशाख १५ गते उपनिर्वाचन भएको थियो । गत असार ५ गते सिंह सवार गाडी बझाङमा दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनामा सिंहकी श्रीमती र भाउजूको समेत निधन भएको थियो ।