धनगढी, १५ वैशाख / बझाङको क्षेत्र नम्बर १ को प्रदेश सभा -१ मा दिउँसो भएपछि मतदान गर्नेको संख्या बढेको छ । विहान ११ बजेसम्म १५ प्रतिशत मतदान भएको सो क्षेत्रमा दिउँसो १ः३० बजेसम्म ३७ प्रतिशत मतदान भएको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय, धनगढीका निमित्त प्रमुख प्रेमराज भट्टले बताए ।
उहाँले प्रदेश सभा -१ को निर्वाचन क्षेत्रभर शान्तिपूर्ण रुपमा मतदान भइरहेको बताउनुभयो । मतदाताले खेतवारीको काम गरेर, खाना खाएर ठुलो संख्यामा मतदान क्षेत्रमा आउन थालेको उहाँको भनाइ छ । सो क्षेत्रमा ६१ हजार ७४८ मतदाता छन् ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उपरीक्षक भरतबहादुर शाहका उपनिर्वाचन हुने प्रदेश सभा निर्वाचन क्षेत्र -१ का ७४ वटै मतदानस्थल र ९३ मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रुपमा भइरहेको छ ।
सो क्षेत्रको चुनावमा सात वटा पालिका ४९ र थलारा गाउँपालिकाको वडा नम्बर ९ सहित ५० वडाका मतदाता सहभागी भएका छन् । सात पालिकामा जयपृथ्वी नगरपालिका ११, मष्टा ७, तलकोट ७, साइपाल ५, सूर्मा ५, छविसपाथिभरा ७, खप्तडछान्ना गाउँपालिकामा ७ वडा छन् ।
मतदान शान्तिपूर्ण बनाउन नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाका टोली मतदान केन्द्रमा खटिएको प्रहरी नायव उपरीक्षक शाहले बताउनुभयो । उहाँका अनुसार शनिबार नै सबै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम चैनपुर ल्याइने छ । साइपाल गाउँपालिका लगायतका विकट क्षेत्रबाट भने मतपेटिका हेलिकोप्टरबाट ल्याइने भएको छ ।
