धनगढी, २ वैशाख/सुदूरपश्चिमको मुख्यमन्त्री चयनमा नयाँ मोड आएको छ। एकीकृत समाजवादीले आइतबार कांग्रेससहित राप्रपासित मिलेर नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएका छन्। उनले आफै मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेको एक नेताले बताए।
सत्ता गठबन्धनभित्र एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउन सहमति भएको ती नेताले बताए। मंगलवार धनगढीमा बसेको नेकपा एमाले, माओवादी, नागरिक उन्मुुक्तीको एक पक्षसहितको बैठकले मुख्यमन्त्रीका लागि सोडारीलाई सर्मथन गर्ने निर्णय गरेको हो।
नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता मानबहादुर धामीले एकीकृत समाजवादीले यसअघि मुख्यमन्त्री पदमा लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको बताए। उनले सोडारी मुख्यमन्त्री हुने सहमति पछि समर्थन फिर्ता लिन प्रदेश प्रमुखसमक्ष पत्र पठाएको जानकारी दिए। ‘समर्थन फिर्ताको पत्र प्रदेश प्रमुखलाई दिनुभयो, प्रदेश प्रमुखले के गर्नुहुन्छ भन्ने बाँकी छ,’ उनले भने।