धनगढी, २९ कार्तिक/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बडिकेदार पवित्र धामको सर्वाङ्गीण विकासका लागि प्रदेश सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति, डोटीले धनगढीमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले उक्त क्षेत्रलाई ऐतिहासिक, सांस्कृतिक र कृषि दृष्टिले अत्यन्त महत्वपूर्ण ठाउँका रूपमा उल्लेख गरे । मुख्यमन्त्री भट्टले भने, “यो धेरै नै पवित्र–पावन तीर्थ हो। यस्तो पवित्र धाम हाम्रो प्रदेशमा हुनु हामीलाई गर्वको कुरा हो र प्रचुर सम्भावनाको कुरा हो।” उनले कैलालीबाट सबैभन्दा नजिक पर्ने महत्वपूर्ण तीर्थस्थलका रूपमा बरिकेदारलाई उल्लेख गर्दै यसको विकासमा विशेष जोड दिए ।
प्रदेश सरकारका कार्य र प्रतिबद्धता
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारले सुदूरपश्चिमका प्रमुख धार्मिक स्थलहरूलाई समेटेर पर्यटकीय तथा धार्मिक सर्किटको गुरुयोजना (मास्टर प्लान) तयार पार्ने निर्णय गरेको बताएका छन् । उक्त गुरुयोजनाअन्तर्गत सबै धार्मिक स्थलहरूलाई एकीकृत प्याकेजमा ल्याई विकास गर्ने योजना रहेको छ ।
यसका लागि बजेट विनियोजनसमेत गरिसकिएको उनले बताए।अर्को वर्षदेखि व्यवस्थित कार्ययोजना सहित कार्यक्रम अगाडि बढाइने र पर्याप्त बजेट विनियोजन गरिने प्रतिबद्धता जनाउँदै मुख्यमन्त्री भट्टले भने, “सडक पूर्वाधारलगायतका विकास कार्यलाई प्राथमिकता दिइनेछ।”सरकारको लक्ष्य नेपालभित्रका (सुदूरपूर्वसम्मका) पर्यटक मात्र नभई छिमेकी मुलुक भारतबाट पनि लाखौंको सङ्ख्यामा धार्मिक पर्यटक आकर्षित गर्ने रहेको छ ।
यसका लागि अध्ययन, चिन्तन र विश्लेषणको काम अहिले पनि जारी रहेको उनले जानकारी दिए।प्रदेश सरकारले बरिकेदार धामको विकासलाई स्थानीय जनताको सपना, चाहना र भावनाअनुरूप अगाडि बढाउने प्रतिबद्धता जनाएको छ । “हाम्रो सोच, साधन र क्षमताले भ्याएसम्म यसको सर्वाङ्गीण विकास गर्ने कुरामा हामी प्रतिबद्ध छौं,” मुख्यमन्त्री भट्टले स्पष्ट पारे ।
जनसहभागिताको आग्रह
आगामी तीनदिने ऐतिहासिक मेलाको सन्दर्भमा मुख्यमन्त्री भट्टले सुदूरपश्चिमवासी, स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई यस पवित्र धामको दर्शन गर्न, विकास कार्यमा सहभागी हुन र क्षमताअनुसार योगदान गर्न आग्रह गरे । प्रदेश सरकार जनताको मन–भावनाअनुसार काम गर्न तयार रहेको उनको भनाइ छ।कार्यक्रमको सफल र सार्थक हुन तथा धामको व्यापक प्रचार–प्रसार हुन शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री भट्टले आयोजकहरूप्रति आभारसमेत व्यक्त गरे ।