धनगढी, २८ चैत/नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीको उपस्थितिमा धनगढीमा पार्टीका सांसदहरूको छलफल सुरु भएको छ ।नाउपा एक मन्त्रीको सरकारी निवासमा रेशम चौधरीसहित सुदूरपश्चिमका ६ सांसद छलफलमा जुटेका छन् । छलफलमा लुम्बिनी प्रदेशका संसदीय दलका नेता धर्म चौधरी पनि उपस्थित छन् ।
सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने विषयमा नाउपामा विवाद रहेको थियो । रेशम चौधरी काङ्ग्रेससँगै रहन चाहन्थे भने अध्यक्ष रन्जिता श्रेष्ठ नयाँ सत्ता गठबन्धनसँग रहने गरी छलफल सुरु गरेकी छन् ।यसैबीच प्रदेशमा नाउपाकी एक सांसद इन्दिरा गिरी पदमुक्त भएकी छन् भने घनश्याम चौधरीलाई दलको नेताबाट हटाइएको थियो । आज यी सबै विषयमा कुरा गर्दै साझा धारणा बनाउने गरी छलफल अगाडी बढिरहेको नाउपा नेताहरूले दाबी गरेका छन् ।
छलफलमा सुदूरपश्चिममा पदमुक्त भएकी सांसद इन्दिरा गिरी पनि सहभागी छन् । त्यस बाहेक टिका थापा उपस्थित छैनन् भने अन्य सबै सांसदहरू एक छलफलमा देखिएका छन् ।सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख नजिर मियाँले वैशाख २ गते सम्मको समय दिएर सूचना जारी गरेका छन् । नाउपाको विवादका कारण अहिले सम्म सरकार गठन प्रक्रिया अगाडि बढ्न सकेको थिए । आज ठोस सहमति भए सरकार गठन प्रक्रिया अगाडी बढ्ने देखिन्छ ।
पार्टी भित्र आन्तरिक किचलो पछि सुदूरपश्चिमका सबै सांसदहरू एकै ठाउँमा बसेर छलफल गरेको यो पहिलो पटक हो ।नयाँ सत्ता गठबन्धनमा एमाले, माओवादी, नाउपा र नेकपा एकीकृत समाजवादी मिल्दा सरकार गठन हुने देखिन्छ । यहाँ एमालेका सभामुखसहित ११, एमालेका १० नाउपाका कारबाही बाहेक ६ र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन् । स्वतन्त्र एक सांसद पनि नयाँ सत्ता गठबन्धनमै रहने देखिन्छ । यहाँ २७ जना सांसदबाट बहुमतको सरकार गठन हुन्छ ।