बैतडी, २६ चैत / सुदूरपश्चिमको मौलिक पर्व बिसु मनाउन घर फर्किने परदेशीको झुलाघाट नाकामा घुइँचो लागेको छ । रोजगारीका लागि भारत पसेका सुदूरपश्चिम र कर्णाली प्रदेशका युवा झुलाघाट नाका भएर घर फर्किन लागेका हुन् ।
सुदूरपश्चिम र कर्णालीमा नयाँ वर्षलाई बिसुपर्वका रूपमा मनाउने चलन रहेको छ । घर फर्किने अधिकांश मौसमी रोजगारीका लागि भारत पसेका छन् ।
अन्य पूजापाठका लागि समेत घर फर्किनेको सङ्ख्या उल्लेख्य रहेको पाइएको छ । बिसुपर्वमा धार्मिक पूजाआजा सम्पन्न गरी नयाँ वर्षको दिन तितेपातीले नुहाएर मौलिक परिकार माडा, बटुकलगायत गतानी डुब्का खाने चलन रहेको छ ।
झुलाघाट नाकाबाट एक महिनाको अवधिमा करिब पाँच हजार नेपाली स्वदेश फर्किएको प्रहरीको तथ्याङ्कमा उल्लेखछ । चैत १ देखि २४ सम्म झुलाघाट नाकाबाट तीन हजार ८९६ पुरुष र ८३८ महिला गरी चार हजार ७३४ जना नेपाली स्वदेश फर्किएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए ।
नेपाल–भारत नाकामा स्वदेश फर्किनेको घुइँचो लागेको उनले बताए । झुलाघाट नाकाबाट दैनिक दुई सयभन्दा नेपाली घर फर्किने गरेका छन् । स्वदेश फर्कने यात्रुको सहजताका लागि झुलाघाट सीमा प्रहरी चौकीको टोली नाकामा खटिएको छ ।