धनगढी, ७ चैत / कैलाली प्रहरीले विभिन्न मुद्दामा कैद सजाय तथा जरिवाना पाएर लामो समयदेखि फरार रहेका प्रतिवादीलाई धमाधम पक्राउ गर्न थालेको छ । प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले जिल्ला प्रहरी कार्यालयको नेतृत्व सम्हालेसँगै एकपछि अर्को गर्दै फरार प्रतिवादी पक्राउ पर्न थालेका छन् ।
एसपी बिष्टले गत ७ फागुनमा कैलाली प्रहरीको कमाण्ड सम्हालेका थिए । बिष्टलाई मंगलबार जिल्ला प्रहरीको नेतृत्व लिएको एक महिना पुगेको छ । यो एक महिनामा प्रहरीले जिल्लाबाट विभिन्न स्थानबाट विभिन्न मुद्दामा दोषी ठहर भएर फरार भएका १०६ जनालाई पक्राउ गरेको छ ।
एसपी बिष्टकाअनुसार सबैभन्दा धेरै वन सम्बन्धीका विभिन्न मुद्दाका ३० जना फरार प्रतिवादी पक्राउ परेका छन् । त्यसपछि लागुऔषध मुद्दाका १६ जना, चेक अनादर मुद्दाका १० जना, अपराधिक विश्वास घात मुद्दाका ६ जना, सवारी ज्यान मुद्दाका ५ जना र जालसाजी मुद्दाका ५ जनालाई पक्राउ गरेर आवश्यक कारवाहीका लागि जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।
यस्तै कुटपिट, गाली बेइज्जती, आत्महत्या दुरुत्साहन, आगजनी, जबरजस्तीकरणी लगायतका अन्य विभिन्न मुद्दाका थप ३४ जनालाई समेत पक्राउ गरेर कारवाहीका लागि सम्बन्धीत निकायमा पठाइएको छ ।
एसपी बिष्टले अपराधिक गतिविधिमा संलग्न भएर अदालतबाट सजाय पाइसकेका तर लामो समयदेखि फरार रहेका अभियुक्तलाई पक्राउ गर्न विशेष अभियान चलाइएको बताए । सोही अन्तरगत जिल्लास्थित मातहतका सबै प्रहरी कार्यालय र युनिटको सक्रियतामा एक महिनामा उल्लेख्य प्रगती भएको उनी बताउँछन् ।
जबकी कैलाली प्रहरीले चालु आर्थिक वर्षको ७ महिनामा यसअघि ३१ जना फरार प्रतिवादी मात्र पक्राउ गरेको थियो । एक महिनामा समातिएका फरार प्रतिवादीको संख्या यो भन्दा तीन गुणाले बढि देखिएको छ ।