धनगढी, २५ फागुन / माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सरकार विस्तार गर्न थालेको पहल तत्काललाई रोकिएको छ ।
शाहले राप्रपाकी खेमादेवी बिष्ट र स्वतन्त्र सांसद ताराप्रसाद जोशीलाई मन्त्रीमा नियुक्त गर्दै बिहीबार राति नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका थिए । राप्रपाले पार्टी केन्द्रले आन्दोलन घोषणा गरेका कारण तत्काल सरकारमा नजाने बताएपछि मुख्यमन्त्री शाहको सरकार विस्तार गरेर आफ्नो पक्षमा बहुमत पुगाउने प्रयास विफल भएको छ ।
राप्रपालाई फकाउने प्रयास सफल नभएपछि कार्यालयमै रोकिएका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् र प्रदेश प्रमुखको कार्यालयका कर्मचारी अबेर राति मात्र घर फर्किएका थिए । राप्रपाले केन्द्रको आन्दोलन मात्र नभएर बजेट ल्याएका बेला गरेको प्रतिबद्धता पूरा नगरेर मुख्यमन्त्री शाहले धोका दिएका कारण पनि शाह नेतृत्वको सरकारलाई समर्थन गर्न नसकिने जवाफ समेत फर्काएको थियो ।
तर मुख्यमन्त्री शाहले गल्ती भएको भन्दै रोजेर मन्त्रालय लिन प्रस्ताव गरेको स्रोतको दाबी छ । त्यो बेला प्रमुख प्रतिपक्षी दल एमालेको विरोधकाबीच मुख्यमन्त्री शाहले राप्रपाकी सांसदलाई लेखा समितिको सभापति दिने आश्वासन दिएर प्रदेशसभा बैठकमा सहभागी गराउदै बजेट पारित गरेका थिए । तर प्रमुख प्रतिपक्षी दल एमालेले लेखा समिति पाएपछि विष्ट सरकारसँग रुष्ट बनेकी थिइन् ।
तर प्रदेशसभा सदस्य विष्टले भने पार्टीले सरकारमा सहभागी हुने वा नहुने विषयमा कुनै निर्णय नगरेका कारण अहिले हतार नगर्ने बताइन् । ‘उहाँहरुले स्वभाविक रुपमा मलाई पनि सरकारमा सहभागी हुनुहोस् भनेर प्रस्ताव गर्नुभएको हो तर मैले अहिले पार्टी आन्दोलनमा भएकाले त्यो बारे निर्णय लिन नसक्ने जवाफ दिएकी छु,’ विष्टले भनिन्, केन्द्रको निर्णयका आधारमा अघि बढ्छौँ ।’