धनगढी १० फागुन/नेकपा एमाले कैलालीको अधिवेशनमा मतदान अनिश्चितकालका लागि स्थगित गरिएको छ ।तेस्रो दिन बिहीबार दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म नेतृत्व चयनका लागि मतदान हुने तय गरिएको थियो तर साढे ५ बजे निर्वाचन कमिटीले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म मतदान स्थगित गरिएको जनाएको छ ।
प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराले अर्को सूचना जारी नभएसम्ममा लागि निर्वाचन कार्यक्रम स्थगित गरिएको जारी सूचनामा उल्लेख गरेका छन् ।यसअघि मंगलबार र बुधबार पनि मतदानको तालिका सार्वजनिक गरिएको थियोे तर अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।
बिहीबार पनि मतदान हुने प्रतिक्षामा रहेका अधिवेशन प्रतिनिधिले अन्तिम समयमा आएर निर्वाचन कमिटीले स्थगित गरेपछि मतदान हुनुपर्ने माग गर्दै नाराबाजी समेत गरेका छन् ।तर निर्वाचन कमिटीले भने प्राविधिक कुरा मिलाउनुपर्ने भएकाले समस्या भएको बताउँदै आइरहेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार अधिवेशनको उद्घाटन गरेका थिए । उनले सहमति नभए भोलिपल्टै निर्वाचन प्रक्रिया थाल्ने निर्देशन दिएको भएपनि कैलालीमा पाँचौ दिन समेत मतदान हुन नसकेको हो ।एमालेका केन्द्रीय स्तरका नेताहरू केन्द्रीय कमिटि बैठकमा सहभागी हुन काठमाडौ गएका कारण पनि मतदानको प्रक्रिया प्रभावित भइरहेको जिल्लाका नेताहरू बताउँछन् ।
कैलालीमा हालका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र पूर्व सचिवालय सदस्य यज्ञराज ढुंगाना प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।