बैतडी, ८ फागुन / बैतडीमा गठन भएका महिला सशक्तीकरण केन्द्रहरु समाजमा विद्यमान हानिकारक प्रचलन हटाउन सक्रिय भएका छन् । जिल्लाको पाटन नगरपालिका र दशरथचन्द नगरपालिकामा गठन भएका महिला सशक्तीकरण केन्द्रहरुले हानिकारक प्रचलन हटाउनका लागि सक्रियता देखाएका हुन् ।
अक्सफाम नेपालको सहयोगमा रुडेस बैतडीले सञ्चालन गरेको ग्रीन परियोजना अन्तर्गत गठन भएका महिला सशक्तीकरण केन्द्रहरुले हानिकारक प्रचलन हटाउनका लागि समूहमार्फत पहल गर्ने गरेको सहजकर्ता ललिता भुलले बताइन् ।
पाटन नगरपालिकाका विभिन्न वडामा १० ओटा महिला सशक्तीकरण केन्द्रहरु सञ्चालनमा रहेका र ती केन्द्रहरुमा साप्ताहिक रुपमा कक्षा समेत सञ्चालन हुने गरेको भुलले बताइन् ।
महिला सशक्तीकरण केन्द्रहरुले बालविवाह न्यूनीकरण, सामाजिक विभेद न्यूनीकरण, महिनावारी भएको बेला गरिने भेदभाव न्यूनीकरणका लागि पहल गर्ने गरेको पाटन नगरपालिका ६ की अनिता जोशी भट्टले बताइन् । उनले भनिन् ‘सशक्तीकरण केन्द्रमा आवद्ध महिलाहरु आफ्ना हक अधिकारका बिषयमा पनि जागरुक भएका छन् । समाजमा विद्यमान गलत प्रचलन हटाउन पनि सक्रिय रहेका छन् ।
महिलाहरुलाई आफ्ना हकअधिकारका बिषयमा जागरुक बनाउन र उनीहरुको क्षमता अभिवृद्धिका लागि महिला सशक्तीकरण केन्द्र सञ्चालनमा रहेका रुडेस बैतडीका कार्यक्रम संयोजक अशोक चन्दले बताए ।