धनगढी,२९ माघ / बझाङको बित्थडचिर गाउँपालिकाका एक सिभिल इन्जिनियर डडेल्धुरामा पक्राउ परेका छन् । बित्थडचिर–१ घर भएका २६ वर्षीय धनबहादुर बोहरा शनिबार पक्राउ परेका हुन् ।
नेपाल टेलिकम डडेल्धुराबाट फर्जी प्रमाणपत्र पेस गरेर सिम निकालेपछि उनी पक्राउ परेका बताइएको छ । उनले माघ २३ गते बित्थडचिरकै मोहनबहादुर बोहराको मतदाता नामावली परिचयपत्र डाउनलोड गरेर अवैध रूपमा सिम निकालेका थिए ।
उक्त सिमबाट सञ्चालित नविल बैंकको मोबाइल बैंकिङ एपबाट ७२ हजार एक सय ट्रान्सफर गरी ३५ हजारको नमस्ते र ३५ हजारकै एनसेलको रिचार्ज कार्ड लिएका थिए । उनले बागबजारको मित्र मोबाइलबाट रिचार्ज कार्ड किनेको प्रहरीले बताएको छ । उनीमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको डडेल्धुरा प्रहरीले जनाएको छ ।