धनगढी १८ माघ/सुदूरपश्चिमका उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ । यो बर्ष पहिलो पटक हिमपात भएको हो ।
बैतडीका उच्च लेकाली क्षेत्रमा हिमपात शुरु भएको स्थानीयहरुले बताएका छन् । जिल्लाको सिगास गाउँपालिकाको केन्द्र गर्जे, श्रीभावर लगायतका ठाउँमा हिमपात भएको छ भने पाटनको खोड्पे क्षेत्रमा पनि हिमपात शुरु भएको छ ।
यस्तै सतबाँझ, रौलाकेदार लगायतका उच्च क्षेत्रमा हिमपात भएको स्थानीयहरुले बताएका छन् । दार्चुलाको अपिहिमाल, व्याँस लगायतका क्षेत्रमा हिमपात भइरहेको छ भने बझाङ,बाजुरा, डोटी लगायतका जिल्लाका उच्च हिमाली क्षेत्रहरुमा हिमपात भएको छ । खप्तड लगायतका क्षेत्रहरुमा हिमपात भएको बताइएको छ । बर्षा र हिमपातले कतिपय ग्रामीण क्षेत्रका कच्ची सडकहरु अवरुद्ध भएका छन् । हिउँदे बर्षा र हिमपातले चिसो बढेको छ ।