धनगढी : पाँचौ संस्करणको फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता आगामी माघ १० गतेदेखि आयोजना हुने भएको छ। आयोजक फारवेष्ट पशुपति युवा क्लबले यसअघि प्रतियोगिता पुस ४ गतेदेखि आयोजना हुने भनेकोमा प्राविधिक समस्या र प्रायोजकको अभावले प्रतियोगिता झण्डै एक महिना पछि सारेको जनाएको छ।
प्रतियोगिता एक महिना सरेको जानकारी दिदै आयोजकले प्रतियोगिताको ट्रफी भने सार्वजनिक गरेको छ। क्लबका सचिव ललित मिश्रले पाँचौ संस्करणको तयारी अन्तिम चरणमा पुगेको अवस्थामा पनि प्राविधिक कारणसँगै प्रायोजकको खोजी भइरहेको प्रतियोगिताको नयाँ मिति माघ १० गतेलाई तोकेका बताए।
यस्तै प्रतियोगिता सारेको फारवेष्ट पशुपति युवा क्लबले आफ्नो टीमको कप्तानमा कुँवेर सिंह रहने घोषणा गरेको छ। प्रतियोगिता सरेको जानकारी दिन आयोजना गरिएको कार्यक्रममा ट्रफी सार्वजनिकसँगै सिंहको कप्तानीमा आयोजकको १८ सदस्यीय टीम बनाउने तयारी भइरहेको जानकारी दिइएको छ।
धनगढी रंगशालामा आयोजना हुने प्रतियोगितामा १६ टिमको सहभागिता रहने क्लबका कार्यवहाक अध्यक्ष हरि बोहोराले जानकारी दिए। प्रतियोगिता हेर्नका लागि विद्यार्थी सहुलियतको पचास र अन्य दर्शकलाई एक सय रुपैयाँ टिकट दर समेत तोक्ने निर्णय क्लबले गरेको बोहोराले बताए। उनले पाँचौ संस्करणमा टिकटबाट पाँच लाख आम्दानी हुने अपेक्षा राखेको बताए।
प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख ५० हजार पाउने छन्। चौथो संस्करणको विजेताले चार लाख तथा उपविजेताले दुई लाख पुरस्कार पाएको थियो। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टलाई १५र१५ हजार रुपैयाँ पुरस्कार पाउने छन्।
फारवेष्ट पशुपति युवा क्लब छैँटौ राष्टिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई पदक जिताउने खेलाडीले स्थापना गरेको क्लब हो। उनीहरुले विगत पाँच वर्षदेखि आफू नखेलेर सुदूरपश्चिममा ऐकेडेमी स्थापना गर्ने उद्देश्यले फारवेष्ट पशुपति कपको आयोजना गर्दै आएका छन्।