धनगढी १५ माघ/नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशले संसदीय दलको नेता फेर्ने निर्णय तत्काल सच्याउन निर्देशन दिएको छ । प्रदेशमा माओवादी दलको नेता फेर्ने निर्णयमा पार्टीको असहमति भएको छ ।
शनिवार बसेको प्रदेश अध्यक्ष हरिराम चौधरी (उत्सव) को अध्यक्षतामा बसेको पदाधिकारी बैठकले उक्त निर्णय सच्याउन संसदीय दललाई निर्देशन दिने निर्णय गरेको हो ।
संसदीय दलका नेता खगराज भट्टको जानकारी बिना उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले दलको नेता परिवर्तन र सरकार परिवर्तन गर्ने भन्ने कुराप्रती ध्यानाकर्षण भएको जनाउँदै सच्याउन निर्देशन दिने निर्णय भएको माओवादी केन्द्रले जनाएको छ ।
‘यही मिति २०८० माघ १२ गते नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक दल नेता कमरेड खगराज भट्टको जानकारी विना उपनेता कमरेड अक्कल बहादुर रावलको अध्यक्षता बसी दलनेता परिवर्तन र सरकार परिवर्तन गर्ने भन्ने कुरा प्रति पदाधिकारीहरुको गम्भीर ध्यानाकर्षण भएको छ,’ निर्णयमा भनिएको छ, ‘हाम्रो पार्टी परम्परा विधि विर्षारत केन्द्रीय कार्यालयको निर्देशनको समेत अवज्ञा गरी गरिएको निर्णयले पार्टीमा अराजकता र स्वेच्छाचारी नै संस्थागत मान्यता पाउने खतरा हुने भएकोले संसदीय दलको यो निर्णय पार्टीका हजारौँ कार्यकर्ताको मनोभावना वर्षारतको भएकोले अविलम्ब सच्याउन संसदीय दललाई निर्देशन दिने निर्णय गरियो ।’
ससदीय दलभित्रको समस्यालाई गम्भीरता पूर्वक लिएर केन्द्रीय कार्यालयको उपस्थितिमा विवाद समाधान गर्ने पहल गर्न समेत आग्रह गरिएको छ । शुक्रबार बसेको माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलका बहुमत सांसदको बैठकले भट्टलाई हटाएर दलको नेतामा मानबहादुर धामीलाई बनाउने निर्णय गरेको थियो ।
संसदीय दल र प्रदेश सरकारको कार्यसम्पादन सन्तोशजनक नभएको कारण देखाउँदै उनीहरुले यसअघि गत २१ पुसमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्षलाई ज्ञापनपत्र बुझाउदै दल नेता र मन्त्री फेर्नुपर्ने आग्रह गरेका थिए ।
त्यही बेला बहुमत सांसदको भावनाअनुसार अघि नबढेमा संसदीय दलको विधानअनुसार निर्णय लिने चेतावनी दिएका बहुमत सांसदले दलको नेता परिवर्तन गरेपछि माओवादी सुदूरश्चिममा विवाद सिर्जना भएको छ ।