धनगढी, ११ माघ / राष्ट्रिय सभा सदस्यका लागि गरिएको मतदान सुदूरपश्चिम प्रदेशमा सम्पन्न भएको छ। सुदूरपश्चिममा ९९ प्रतिशत मतदान भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। सुदूरपश्चिममा तीन सदस्यका लागि निर्वाचन भएको हो।
यहाँ प्रदेशका ५२ र स्थानीय तहका १ सय ७५ गरि दुई सय २७ जना मतदाता रहेका छन् । सो मध्ये दुई जना स्थानीय तहका जनप्रतिनिधि मतदानमा सहभागि नभएको मतदान केन्द्रका सहायक कर्मचारी युवराज जैशीले बताए ।
उनले भने –‘दुई सय २७ मतदातामा दुई सय २५ जनामात्र भाग लिए । मतदानको समय सकिएको छ ।’ उनका अनुसार प्रदेशतर्फका सबै जनप्रतिनिधिले मतदान गरेको भएपनि स्थानीय तहका दुई जना जनप्रतिनिधि सहभागि भएनन् ।
मतदानमा सहभागि नहुनेमा धनगढी नगर प्रमुख गोपाल हमाल र भजनी नगरपालिकाकी उपप्रमुख राजु तिरुवा रहेका छन् । नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित तिरुवाले आफु विरामी भएका कारण मतदानमा भाग लिन नसकिएको बताइन् ।
नगर प्रमुख हमालले भने काठमाडौंका स्वतन्त्र नगर प्रमुख बालेन शाहको सिको गरेका छन् । यसअघि जिल्ला समन्वय समितिको निर्वाचनमा भाग लिएका हमालले राष्ट्रिय सभा निर्वाचनमा सहभागि नभएको जनाइएको छ ।
गठबन्धनको तर्फबाट अन्यबाट नेपाली कांग्रेसका बलदेव बोहरा, अपाङ्ग तथा अल्पसङ्ख्यक कलस्टरमा कांग्रेसकै नारायणदत्त भट्ट र महिला कलस्टरमा माओवादीबाट रेणु चन्द उम्मेदवार छिन् ।
एमालेले भने, अन्यतर्फ ईश्वरी खरेल, महिलातर्फ सावित्री घिमिरे र अपाङ्गतातर्फ रामचन्द्र जोशी उम्मेदवार छन् ।
निर्वाचनको मतपरिणाम आजनै सार्वजनिक हुने बताइएको छ ।