धनगढी , १० माघ / कैलाली बहुमुखी क्याम्पसमा विद्यार्थी गुणस्तर समुहको आयोजानामा सिर्जनात्मक लेखन र व्यक्तित्व विकास सम्बन्धि चार दिने कार्यशाला सम्पन्न भएको छ ।
क्याम्पसमा अध्ययनरत विद्यर्थीहरुको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्धेश्यले कार्यक्रम गरिएको हो ।विद्यार्थीहरुलाई दैनिक जीवनमा आवश्यक पर्ने व्यवहारिक सिपहरु सिकाउने उद्धेश्यले उक्त कार्यशालाको आयोजना गरिएको कार्यक्रम संयोजक ओम प्रकाश वस्तीले बताए ।
कार्यशालाको पहिलो दिन क्याम्पस प्राध्यापक संघ केएमसीका सभापति, सह–प्राध्यापक डा. शिव प्रसाद सापकोटाले प्रस्तावना र प्रतिवेदन लेखन सम्बन्धि (अंग्रेजी माध्यम)मा प्रशिक्षण दिएका थिए । विद्यार्थीहरुले सिकाईलाई दिगो बनाउन खुल्ला र अन्तरक्रियात्मक शिक्षण शैलीको विकासमा जोड दिनुपर्ने उनको भनाई छ । जनशक्ति परिचालन, समुह व्यवस्थापन र लेखन सम्बन्धि कार्यशालामा सिकेका सिपहरु दैनिक जीवनमा उपयोगी हुने र सिकाईका क्रममा प्राध्यापक र विद्यार्थीबिचको मनोवैज्ञानिक दुरी कम गर्न मद्दत पुग्ने उनले बताए ।
त्यस्तै दोस्रो दिन नेपाली विषयका उप–प्राध्यापक वासुदेव बिष्टले नेपाली माध्यममा प्रतिवेदन, प्रस्तावना, चिठी, निवेदन, माईन्युट लेखन सम्बन्धि प्रशिक्षण दिएका छन् । तेस्रो दिन पहिलो सत्रमा अंग्रेजी विषयका उप–प्राध्यापक डा.मान बहादुर जोराले प्रस्तुतिकरण, त्यससम्बन्धि सिप र वायो–डाटा तयार पार्नेबारे प्रशिक्षण गराए । दोस्रो सत्रमा स्वतन्त्र विद्यार्थी युनियनका सचिव सन्तोष पन्तले वक्तव्य, मन्तव्य र यसका प्रकार तथा सिपहरुबारे प्रशिक्षण दिएका थिए ।
त्यसै गरी चौथो दिन उद्घोषण र वाक–कला सम्बन्धि प्रशिक्षक प्रेम चन्दले प्रशिक्षण गराए । उक्त कार्यशालामा सिर्जनात्मक लेखन सम्बन्धि सिप सिकेको मात्र नभएर व्यक्त गर्ने तरिकाहरुबारे स्पष्ट हुने मौका पनि पाएको विद्यार्थी सहभागी विद्यार्थीहरु बताउँछन् ।
क्याम्पसका तर्फबाट विद्यार्थीहरुको व्यक्तित्व विकासका लागि सँधै तत्पर रहेको क्याम्पस प्रमुख प्राध्यापक तोयराज भट्टले बताए। उत्पादनमूलक र सिर्जनात्मक जनशक्ति उत्पादनमा क्याम्पसले जोडदिने उनले बताए ।
उक्त कार्यशालामा क्याम्पसमा अध्ययनरत विभिन्न संकायका ६७ जना विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रम संयोजक वस्ती बताए।