बाजुरा, २९ पुस / सुन्तला बिक्री नहुँदा बाजुराका किसान मर्कामा परेका छन् । किसानले उत्पादन गरेको सुन्तलाले कतै बजार पाएको छैन । कात्तिकमा पाकेको सुन्तला पुस महिनासम्ममा पनि बिक्री नभएको त्रिवेणी नगरपालिका–९, पैमाका धनराज उपाध्यायले बताए ।
सुन्तला बिक्री गरेर घरखर्च जोहो गर्ने भनेको थिएँ । अहिलेसम्म बिक्री नहुँदा मनमा चिन्ता पसेको छ । सुन्तला पाकेर बारीमा पहेँलपुर देखिए पनि त्यसमा कसैको मन नलोभिएको भन्दै उहाँले जुन खेती गरे पनि केही नहुने भयो भन्ने मनमा चिन्ता लाग्न थालेको त्रिवेणी नगरपालिका–९, पैमाकाउपाध्यायले बताए ।
उपाध्यायले गाउँमै सात सयभन्दा बढी रोपनीमा सुन्तला खेती गरेका छन । अहिले बिक्री गर्न समस्या भएको उपाध्यायको गुनासो छ । कृषि ज्ञान केन्द्रको पहलमा उपाध्यायले सुन्तला खेती गरेको बताए।
उनले गहुँ, धान र कोदो लगाउने जमिनमा सुन्तला खेती सुरु गर्नुभएको हो । गहुँ र धान फलाउने जमिनमा सुन्तला फलाएका उपाध्यायलाई बजारको समस्या देखिएको छ । गाउँमा कोल्डस्टोरको व्यवस्था छैन । यसरी किसानले उत्पादन गरेका वस्तु केही महिनासम्म राख्न सहज हुने गरेर कतैबाट कोल्डस्टोरको व्यवस्था भइदिए सहज हुने अपेक्षा उनले गरेका छन् ।
बाजुरा जिल्लाको गौमूल गाउँपालिका, बडिमालिका र त्रिवेणी नगरपालिकामा सुन्तला उत्पादन हुने गरेको छ । यहाँ उत्पादित सुन्तलाले समयमै बजार नपाउँदा समस्या भएको गौमूलका सुन्तला किसान पारू रोकायाले बताए।