धनगढी, १ पुस/ चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोबिन्द केसीले आफ्नो तीन दिने सत्याग्रह भोलि मात्रै तोड्ने भएका छन् ।गत शुक्रबार बेलुकीबाट अनसन सुरु गरेका डा। केसीले ७२ घन्टा नपुगेको भन्दै भोलिमात्रै सत्याग्रह तोड्ने बताएको केसीका सहयोगी डा. अमृत जैसीले जानकारी दिए ।
‘हामीले सत्याग्रह आज तोड्ने भनेका थियौं तर, उहाँले ७२ घन्टा नपुगेकाले तोड्न मान्नुभएन’, डा. जैसीले भने । बढ्दो उमेर र हालैमात्र शल्यक्रिया गरेका कारण डा। केसीको स्वास्थ्य अवस्था बिग्रिदै गएको छ । उनका अनुसार डा। केसीको शरीर सुन्निएको छ भने रक्तचाप घट्दै गएको छ । ‘उहाँको स्वास्थ्य अवस्था बिग्रदै गएकाले स्लाइन चढाउन खोजेका थियौं । तर, उहाँले मान्नुभएन’, डा. जैसीले भने, ‘आजदेखि त शैचालय पनि जान नसक्ने अवस्थामा पुग्नुभएको छ ।’
डा. केसीले एक हप्ता अगाडि मात्रै पित्तथैलीको शल्यक्रिया गराएका थिए । सरकारले विगतमा पटक–पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै डा. केसीले शुक्रबार बेलुकी २१ औँ अनसन सुरु गरेका हुन् ।उनी गत शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अनसनका लागि धनगढीस्थित गेटा अस्पताल पुगेका थिए । तर सत्याग्रह बस्न धनगढी पुगेका उनलाई दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका सदस्यहरुले अवरोध गरेका थिए । त्यसपछि उनी स्थानीय लक्ष्मीनारायण मन्दिरको धर्मशालामा गएर अनसन सुरु गरेका थिए ।