काठमाडौँ २८ मंसिर/उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री बालकृष्ण खाणलाई रु ३० लाख धरौटीमा थुनामुक्त गर्न आदेश गरेको छ ।
न्यायाधीश कृष्णराम कोइरालाको इजलासले आज खाणलाई रु ३० लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको हो । आदेशमा भनिएको छ, “बालकृष्ण खाणबाट मुलुकी फौजदारी कार्यविधि संहिता २०४७ को दफा ६८ र ७२ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट २०८०र८र१ मा थुनामा राखी पुर्पक्ष गर्ने गरी भएको आदेशलाई बेरितको देखिँदा बदर गरी रु तीस लाख धरौटी, जमानत वा बैंक जमानत दिईरलिई तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्ने गरी मिति २०८०/०८/१५ मा भएको रायमा सहमतिको राय कायम गरिदिएको छ ।”
न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासमा यही मङ्सिर १५ गते उक्त विवादमा राय बाझी आदेश भएको थियो । आदेशमा खाणको हकमा तेस्रो न्यायाधीशसमक्ष पेस गर्न भनिएको थियो । सोहीअनुसार आज सुनुवाइ भएर अदालतबाट सो निर्णय भएको हो ।
अदालतले उक्त विवादमा नौ जना प्रतिवादीको हकमा थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतको आदेशलाई सदर गरेको थियो भने छ जना प्रतिवादीको हकमा थुनामै राख्ने काठमाडौँ जिल्ला अदालतको आदेश बदर गरी धरौटी माग गर्ने आदेश दिएको थियो ।