कञ्चनपुर २५ मंसिर/आगामी २८ गते कञ्चनपुरको महेन्द्रनगर स्थित संविधान चोकमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले स्वर्गीय राजा महेन्द्रको शालिक ठ्याउने तयारी गरेको छ । अघिल्लो दिन कैलालीको पहलमानपुरमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणा र , प्रवक्ता ज्ञानेन्द्र शाही लगायतका नेताहरू उपस्थित भएर कार्यक्रम गर्ने र अर्को दिन महेन्द्रनगरमा महेन्द्रको शालिक स्थापना गर्ने राप्रपाले तयारी गरेको छ ।
‘हामीले सम्पूर्ण तयारी गरेका छौँ । महेन्द्रनगरमा २८ गते राजा महेन्द्रको शालिक हामी स्थापना गर्छौ’ राप्रपाका सुदूरपश्चिम प्रदेश प्रवक्ता छत्र शाहीले भने, ‘पार्टी अध्यक्ष लगायतका नेताहरूबाट शालिक स्थापना हुने छ । ’ २८ गते महेन्द्रनगरमा वृहत् आमसभा आयोजना गर्न र त्यस पछि शालिक स्थापना गर्ने तयारी भइरहेको उनले जानकारी दिए । शालिक तयार भइरहेको र राख्न मात्रै वाकी रहेको प्रवक्ता शाहीले जानकारी दिए ।
राप्रपाले महेन्द्रको शालिक स्थापनाको तयारी गर्दा यहाँका विभिन्न ८ दलले त्यसको विरोध गरेका छन् । जिल्ला समन्वय समिति कञ्चनपुरले आयोजना गरेको सर्वदलीय बैठकमा राप्रपा अध्यक्षले राजा महेन्द्रको शालिक स्थापना गर्ने बताएपछि बैठकमै अन्य दलले विरोध जनाएका थिए । त्यसपछि त्यहाँ सहमति हुन सकेन । कांग्रेस लगायतका दलहरूले शालिक स्थापना गर्न नदिने भन्दै विरोधमा निस्किए । राप्रपा भने शालिक स्थापना गर्ने पक्षमा उभियो ।‘त्यो संविधान चोक हो । त्यहाँ महेन्द्रको शालिक राख्ने कुरा राम्रो होइन’ कांग्रेस कञ्चनपुर जिल्ला सभापति पदम बोगटीले भने ‘व्यवस्था विरोधी कदमको हामी विपक्षमा छौँ । ’ कांग्रेसको नेतृत्वमा यहाँका ८ दलले शालिक राख्न नदिने भन्दै संयुक्त विज्ञप्ति जारी गरेका छन् । कांग्रेस सहित, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी,लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिस्ट पार्टी र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले संयुक्त रूपमा त्यसको विरोध गरेका छन् ।
संयुक्त विज्ञप्तिमा संविधान चोकमा महेन्द्रको शालिक राख्ने काम संविधानको बर्खिलाप र व्यवस्था विरुद्ध रहेको उल्लेख गरिएको छ । आठ राजनैतिक दलले शालिक राख्ने विषयको निन्दा गर्दै उक्त काम रोक्न स्थानीय सरकार र प्रशासनको ध्यानाकर्षण गराएको छ ।
जनआन्दोलन अघि सम्म महेन्द्रको शालिक रहेको उक्त स्थानमा जनआन्दोलन पछि शालिक झिकिएको थियो । संविधान जारी भएपछि सर्वदलीय बैठकले संविधान चोक नाम दिएको उक्त क्षेत्रमा अहिले नेपाली झन्डा राखिएको छ । त्यो क्षेत्रमा अहिले कुनै व्यक्तिको शालिक राख्न नसकिने कांग्रेस सभापति बोगटीको भनाइ छ । उनले त्यस्तो गर्दा प्रशासन र राप्रपा बिचमा मुठभेड हुन सक्ने उनी बताउँछन् ।
‘जनआन्दोलन पछि संविधान आइसकेपछि त्यसलाई संविधान चोक घोषणा गरिएको हो । त्यहाँ कसैको शालिक राख्न पाइँदैन ’ उनले भने ‘प्रशासन पनि यो विषयमा गम्भीर छ । मुठभेडको अवस्था पैदा हुन सक्छ । ’ राप्रपाका प्रदेश प्रवक्ता शाहीले भने शालिक स्थापना गर्ने तर मुठभेड नगर्ने बताए । ‘सबै जनताको खुसीका साथ त्यहाँ शालिक राख्ने तयारी गरेका हौँ । अहिले केही व्यक्ति र पार्टीले विरोध गरेको पनि सुन्न आएको छ । तर, आम नागरिक हाम्रो कदमको पक्षमा हुनुहुन्छ’ उनले भने ‘अहिले हामी विरुद्ध प्रशासन प्रयोग गर्न खोजेको जस्तो देखिएको छ । हामी मुठभेड चाहन्नौँ । तर, शालिक स्थापना गर्छौ ।’