छोरी परीक्षार्थी रहेको परीक्षामा शिक्षामन्त्रीलाई ढाँटेर राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रकका रुपमा कृष्ण शर्मा सहभागी भएको पाइएको छ। उनी बदनियतपूर्ण तरिकाले परीक्षामा सहभागी भएको भेटिएको खबर आजको कान्तिपुर दैनिकमा सुदीप कैनीले लेखेका छन्।
श्रोतका अनुसार परीक्षाका दिन बिदा बसेका उनी प्रश्नपत्र बनाउन र उत्तरपुस्तिका परीक्षणमा भने संलग्न रहेको पुष्टी हुन्छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेल, सदस्यसचिव दुर्गाप्रसाद अर्याल र शर्माले मिलेमतो गरी शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई समेत यस विषयमा झुक्याउन सफल भए।
शर्माकी छोरी ललितपुरको प्रसादी एकेडेमीबाट कक्षा १२ को परीक्षामा सहभागी हुँदै थिइन्। बुवा नियन्त्रक थिए।उनी प्रश्नपत्र छपाइमा संलग्न रहेको भन्दै बोर्डकै कर्मचारीहरुले असन्तुष्टि जनाएका थिए।
उक्त कुरा सञ्चारमन्त्री हुँदै शिक्षामन्त्रीसम्म पुग्यो। मन्त्रीले चासो देखाए।परीक्षा सुरु हुनु २ दिन अघि शर्माले बिदा बस्ने निवेदन दर्ता गराए। शर्मालाई जिम्मेवारीबाट हटाउने निर्णय भयो।
नियन्त्रक शर्मालाई परीक्षाबाट हटाइएको जानकारी मन्त्रीलाई दिइयो।तर, शर्मा मन्त्रीलाई समेत झुक्याएर मर्यादाविपरित परीक्षाका काममा पटक–पटक सहभागी हुँदै आएका छन्।