धनगढी २४ असोज/नेकपा एमाले सुदूरपश्चिमको नयाँ नेतृत्व सहमतिबाट चयन गर्न अन्तिम प्रयास जारी छ । मंगलबार निर्वाचन प्रकृियालाई लम्ब्याएर सहमतिका लागि पदाधिकारीमा खाका तयार गरेका नेताहरू त्यसलाई मूर्त रूप दिन अन्तिम कसरतमा लागेका छन् ।
अध्यक्षमा अछामका कृष्णप्रसाद जैशी, उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही, सचिवमा कैलालीका रणबहादुर चन्द, उपसचिवमा कैलालीकै नेपालु चौधरी र कञ्चनपुरकि कलसा महरालाई बनाउनेगरि सहमति खोज्ने खाका नेताहरू बनाएका छन् तर त्यो सहमतिले अन्तिम रूप पाउन सकेको छैन । अध्यक्षमा उम्मेदवारी दिएका कमल तिमिल्सिना, वचनबहादुर सिंह र भरत साउदले अहिलेसम्म उम्मेदवारी फिर्ता लिएका छैनन् । उपाध्यक्षतर्फ पनि हजारीसिंह साउँदले उम्मेदवारी फिर्ता फिए पनि कालीबहादुर शाहीसहितका पाँच जनाको उम्मेदवारी यथावत छ ।
सचिवमा उम्मेदवारी दिएका जीवन बमले फिर्ता लिएका छन् भने राजेश खाती र रतनबहादुर रेग्मीको उम्मेदवारी कायमै छ । उपसचिवमा पल्लभराज भट्टले उम्मेदवारी फिर्ता लिएका छन् भने अन्यको उम्मेदवारी कायमै रहेको निर्वाचन कमिटीले जनाएको छ ।
प्रमुख निर्वाचन अधिकृत पदम पालले उम्मेदवारी फिर्ता लिने समय बिहान ८ बजेसम्म कायम गरिएको जानकारी दिए ।
९ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र दिउँसो १ देखि साँझ ७ बजेसम्म मतदान गर्ने कार्यसूची तय गरिएको उनले बताए । नेताहरूबीच सहमति जुटेको अवस्थामा भने निर्वाचन नहुने उनी बताउँछन् । मंगलबार बनाइएको खाकामा रहेर हामी नेताहरू र उम्मेदवारकाबीचमा सहमति खोज्ने प्रयासमा छौँ, एक नेताले भने, त्यो सम्भव भएन भने स्वस्थ चुनावी प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्छौँ ।