धनगढी, २३ असोज/एमाले सुदूरपश्चिमको प्रदेश नेतृत्व चुनावी प्रक्रियाबाट चयन हुने भएको छ । सर्वसम्मतिका लागि दुई दिनसम्म भएको प्रयास असफल भएपछि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । निर्वाचन कमिटीले सोमबार बेलुका निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
आइतबार अधिवेशनको उद्घाटन समारोहमा अध्यक्ष केपी ओलीले सहमतिमै नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । ओलीले प्रदेश अध्यक्षका तीनैजना दाबेदार र यहाँका केन्द्रीय नेताहरूलाई राखेर पनि सहमति गरेर जान भनेका थिए । तर, आइतबार बेलुकीदेखि सोमबार दिनभरसम्म पटक–पटक गरिएका छलफलमा सहमति नजुटेपछि नेतृत्वका दाबेदारहरू चुनावका लागि टिम निर्माणका जुटेका छन् । मंगलबार बेलुकी पाँच बजेबाट मतदानको समय निर्धारण गरिएको छ ।
महासचिव शंकर पोखरेलले दुई दिन धनगढीमा बसेर सहमतिको प्रयास गरे । उनी सोमबार काठमाडौं फर्किएका छन् । ‘अध्यक्षको निर्देशनअनुसार महासचिव दुई दिन बसेर सहमति जुटाउने कोशिष गर्नुभयो, तर यहाँका केन्द्रीय नेताका आ–आफ्ना स्वार्थले सहमति जुट्न सकेन,’ एमालेका एक नेताले भने, ‘अब निर्वाचनको प्रतिस्पर्धालाई रोक्ने अवस्था छैन ।’ महासचिव पोखरेल केन्द्रीय सचिव लेखराज भट्ट, स्थायी समिति सदस्य कर्ण थापा र प्रदेश अध्यक्ष दामोदर भण्डारी तीनजनालाई सहमति गराउने जिम्मेवारी दिएर फर्केका छन् ।
प्रदेश अध्यक्षमा वर्तमान उपाध्यक्ष कमल तिमिल्सिना तथा प्रदेश कमिटी सचिवालय सदस्यद्वय कृष्णप्रसाद जैसी र वचनबहादुर सिंहले दाबी गरेका छन् । शिक्षण पेसा छोडेर ०४७ देखि एमालेको राजनीतिमा सक्रिय जैसी ०५४ सालमा जिविस सभापति बनेका थिए । लामो समय एमाले राजनीतिमा सक्रिय तिमिल्सिना ०६६ मा एमाले अछाम जिल्ला अध्यक्ष बनेका थिए । सिंह युवा संघको पूर्वकेन्द्रीय अध्यक्ष हुन् । अध्यक्षका दाबेदार टिम निर्माणको छलफलमा जुटेका छन् ।
सुदूरपश्चिममा नेतृत्व चयनलाई लिएर एमालेका केन्द्रीय नेताहरू नै विभाजित छन् । ‘केन्द्रीय नेताहरूले आआफू निकटलाई अध्यक्ष बनाउन जोडतोडले लाग्नुभएको छ ।